दीपेश र रविको आरोपको प्रकृति एउटै, प्रचण्डजी ! दीपेशलाई मात्रै किन अन्याय ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दीपेश पुन र गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा उस्तै खालको आरोप छ ।

दीपेशलाई पक्राउ गरेर रुपन्देहीमा लगेर सहकागी ठगी प्रकरणमा म्याद थप गरेर अनुसन्धान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई गृहमन्त्री बनाएर पुरस्कृत गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दीपेशलाई पक्राउ गर्न स्वीकृति दिएर त्यहि प्रकृतिको सहकारीको रकम ठगी प्रकरणमा लामिछानेलाई संरक्षण गरेर बचाएका छन् । प्रधानमन्त्री दाहालले दोहोरो चरित्र देखाएका छन् । राज्यशक्तिमा रहेका लामिछानेलाई किन उन्मुक्ति दिइएको छ ? प्रश्न उठेको छ । लामिछाने नागरिकता र राहदानी कीर्ते प्रकरणमा मुछिएर सांसद र गृहमन्त्री पद गुमाएका व्यक्ति हुन् । लामिछानेको मुद्दा प्रधानमन्त्री दाहालले फिर्ता लिएर संविधान, कानूनमाथि खेलवाड गरेका छन् ।

सुन प्रकरणमा पक्राउ परेका दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । दीपेशलाई सहकारी ठगीमा अनुसन्धान शुरु गरिएको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीका पूर्वसचिव दीपेशलाई पक्राउ गरेर अनुसन्धान थालिएपछि लामिछानेको ठगी प्रकरणमा प्रश्न उठाएका छन् ।

पीडितले सहकारीका पूर्वअध्यक्ष एवम् संरक्षक गितेन्द्रबाबु (जीबी) राई र सचिव दीपेशलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आएका छन् ।

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईं, पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरीले शुक्रबार काठमाडौंबाट दीपेशलाई पक्राउ गरेर भैरहवा पठाएको छ ।

दीपेशलाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हल्ला गरेर सहकारी ठगीमा अनुसन्धान शुरु गरिएपछि प्रश्न उठेको छ ।

बुटवलमा २०५७ सालमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर २०७२ फागुन १ मा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

फागुन ३० को साधारण सभाबाट ओखलढुङ्गाका जीबी राई अध्यक्षमा र रोल्पाका दीपेश कोषाध्यक्षमा चयन भएका थिए । जीबी राई गृहमन्त्री लामिछानेको व्यवसायिक पार्टनर हुन् ।

२०७६ कात्तिक १६ मा भएको अर्को साधारण सभाबाट दीपेश सचिव बनेका थिए । दीपेश सचिव रहेकै बेला सहकारीको ७८ करोड बढी रकम अपचलन भएको प्रहरीले जनाएको छ ।

सहकारीको रकम रवि लामिछानेको खातामा समेत ट्रान्सफर भएको देखिएकोमा अहिले दीपेश मात्रै पक्राउ परेका छन् । लामिछाने भने गृहमन्त्रीको कुर्सीमा आसन छन् ।

२०७७ फागुन ११ मा ग्यालेक्सी फोर के टेलिभिजनको घोषणा भएको थियो । टेलिभिजनमा लामिछानेले नगद लगानी नगरेको र काम गरेबापत हिस्सा (स्वेट सेयर) पाएको सार्वजनिक दाबी गरेका छन् । लामिछानेलाई बुटवलकै सुप्रिम सहकारीबाट पैसा ट्रान्सफर भएको प्रमाणहरूले देखाएको छ ।

गोर्खा मिडिया नेटवर्कमा लामिछानेको तर्फबाट कम्तीमा एक करोड रुपियाँ जम्मा भएको भौचर नै सार्वजनिक भएको छ ।

सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचतबाट गरेको खुलेको थियो । टेलिभिजन घोषणा भएको दुई महिना अर्थात् २०७८ वैशाख ५ (१८ अप्रिल २०२१)मा ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खातामा लामिछानेका तर्फबाट एक करोड जम्मा भएको थियो  ।

यो रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर भएको छ । रकम जम्मा भएको ५ महिनापछि २०७८ असोज १५ मा ग्यालेक्सी फोर के टेलिभिजन प्रसारणमा आएको थियो । त्यसको एक सातापछि २०७८ असोज २३ मा गोर्खा मिडिया नेटवर्कले कम्पनी रजिस्ट्रारबाट शेयर लगत पाएको थियो ।

शेयर किताबअनुसार अध्यक्ष राईको ८५ प्रतिशत र लामिछानेको १५ प्रतिशत सेयर कायम भएको थियो ।

खाता नम्बर ०४०१०१००००५७७ मा रकम जम्मा गर्नेका नाममा रवि लामिछाने, रोशनी गुरुङ लेखिएको छ । रकम ट्रान्सफर गर्न सहकारीकै कर्मचारी रोशनीलाई खटाइएकाले उनले जम्मा गरेको बताइएको थियो ।

दीपेश शुक्रबार राति पक्राउ परेका र शनिबार बिदा भएकाले आइतबार म्याद लिएर अनुसन्धान अघि बढेको छ ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपियाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपियाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

६५ करोडभन्दा बढी ऋण लगानी संस्थाका भूतपूर्व अध्यक्षलगायतका व्यक्तिहरू र कम्पनीमा सहकारीको मूल्यमान्यता विपरीत गरिएको देखिएको थियो ।

दीपेश सचिव भएकै समयमा सुप्रिमका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई मात्र ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ ऋण दिइएको थियो ।

राईले आफू अध्यक्ष रहेकै बखत आफ्ना विभिन्न चार कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २ सय ७० रुपैयाँ ऋण लगेका थिए ।

राईले २०७६ कात्तिक १६ मा राजीनामा दिएपछि त्यही दिन संस्थाको अध्यक्ष ओमप्रकाश गुरुङ र सचिवमा दीपेश चयन भएका थिए ।

गुरुङ अध्यक्ष र दीपेश सचिव भएपछि गोर्खा मिडिया नेटवर्कबाहेकका राई र उनका ४ वटा कम्पनीमा मात्र ६४ करोड ७९ लाख ८३ हजार रुपैयाँ ऋण लगानी भएको थियो ।

सुप्रिम सहकारीको बुटवल र भैरहवा कार्यालयबाट संकलन भएको १ अर्ब ७ करोडमध्ये अध्यक्ष जीबी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने रहेको गोर्खा मिडिया नेटवर्कका नाममा १० करोड ७४ लाख रुपियाँ ऋण प्रवाह भएको थियो ।

Published : Sunday, 2024 March 17, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया