मन्त्री खुस्केपछि महानिर्देशकको गोदावरीमा भोज भतेर, राजेश दाससँग घास हाल्ने चर्चा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र घोटालाबारे बयान दिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गोदावरीमा भोज–भतेर गरेर रमाइलो मनाएका छन् ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हटाएर हितबहादुर तामाङलाई मन्त्री बनाएको खुसियालीमा अधिकारीले ललितपुरको गोदावरीमा केही दिन अगाडि भोज–भतेर दिएको उच्च स्रोतले जनाएको छ । किराँती मन्त्री पदबाट हटेको दिन खसी काट्छु भन्दै आएका महानिर्देशक अधिकारीले निकटका केही साथी र सीमित पत्रकारलाई राखेर भोज–भतेर गरेका हुन् । भोजमा खसीको मासु र रक्सी राखिएको स्रोतको भनाइ छ ।

महानिर्देश अधिकारीले नेपाली कांग्रेसँगको गठबन्धन भत्काएर एमाले र माओवादी केन्द्रको गठबन्धन आफूले बनाएको भनेर भोजमा गफ दिएको सहभागी एकजनाले बताएका छन् । अधिकारीले नयाँ गठबन्धन बनाउन निकै खर्च गर्न परेको गफ पनि दिएको चर्चा प्राधिकरणको सिनामंगलस्थित मुख्यालयमा हल्लाखल्ला छ ।

माओवादीका नेता हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन पैसा आफूले जुटाएको पनि गोदावरीको भोजमा भनेको सुन्नेहरूले बताउने गरेका छन् ।

महानिर्देशक अधिकारीले नयाँ मन्त्री तामाङको छोरासँग निकै घनिष्ट सम्बन्ध बनाएको र मन्त्री तामाङ ‘मेरो खल्तीमा छ’ भन्ने गरेको चर्चा पनि प्राधिकरणभित्र छ । मन्त्री तामाङको छोरासँग सेटिङ्ग मिलिसकेको बताउने गरेका अधिकारीले मिलेर काम गर्ने बताउने गरेका छन् ।

माओवादीका नेताहरूको छोराहरूले गरेका काण्डका कारण अहिले धमाधम पक्राउ परेका बेला पर्यटनमन्त्री तामाङका छोरा र महानिर्देशक अधिकारीबीच साँठगाँठ हुन थालेपछि प्राधिकरणमा खैलाबैला भएको छ ।

नयाँ मन्त्री तामाङ तत्कालीन मन्त्री प्रेमबहादुर आले जस्तो महँगो नरहेको गोदावरी भोजमा बताएका छन् । स्रोतका अनुसार महानिर्देशक अधिकारीले नयाँ मन्त्री तामाङलाई महँगो मन्त्री नभएको बताएका थिए । अधिकारीले साथीहरूलाई यो कुकुरहरूलाई बेला–बेला हड्डी चुसाउन पर्छ भनेको स्रोतको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा बयान लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो बिहीबार महानिर्देशक अधिकारीलाई बोलाएको थियो ।

आफू निकटका व्यापारीलाई अख्तियारमा राजेश दासलाई घास हाल्न पर्‍यो भन्दै पैसा मागेको चर्चा छ । ‘मधिशेले १५ करोड मागेको छ, १० सम्ममा मिल्छ होला’ भनेको प्राधिकरणको सिनामंगल मुख्यालयमा चर्चा छ ।

महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन गरिएको प्रयास सफल हुन सकेन । उनीसँग सम्पर्क हुन सकेन ।

Published : Saturday, 2024 March 16, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया