तीन तहको निर्वाचनपछि मात्रै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : उप-सभापति राजु खनाल

अर्घाखाँची । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले पार्टीभित्र एकता हुन सकेमात्रै संगठन मजबुत हुने बताएका छन् ।

पार्टीभित्रै बढ्दो आरोप प्रत्यारोप र असहयोग गर्ने परिपाटीले कांग्रेसको संगठन राम्रो हुन नसकेको बताए । सबै नेता कार्यकर्ता मिलेर जाने हो भने कांग्रेसलाई हराउन कसैले नसक्ने उनले बताएका छन् ।

स्थानीय, प्रदेश र संघको निर्वाचनपछि मात्र पार्टीको अधिवेशन गर्नुपर्ने विधान कांग्रेसले ल्याउनुपर्ने उप–सभापति खनालले बताएका छन् । तीन तहको निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन भयो भने त्यसको असर पार्टीभित्र रहने र निर्वाचन प्रत्यक्ष असर पर्ने उनको भनाइ थियो ।

शुक्रबार अर्घाखाँची जिल्लामा वीपी स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री समेत रहेका खनालले कांग्रेसले गरेका कामहरूको प्रचार–प्रसार गर्न नसकिएको बताउका छन् । उनले कांग्रेसले गरेका कामको आधा मात्रै प्रचार गर्ने हो भने कांग्रेसलाई जनताले बुझ्न सजिलो हुने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्व सभापति कमलप्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उप–सभापति बाबुराम पौडेल, सचिव अच्युत गौतम लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद खनालले गरेका थिए ।

Published : Saturday, 2024 March 16, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया