एमाले नेता बास्कोटाको खुलासाले गठबन्धनभित्र तङ्ग, दुई पार्टीबीच छिट्टै एकीकरण हुने

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरण हुने सम्भावना रहेको प्रक्षेपण गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले माओवादी र एकीकृत समाजवादीबीच छिट्टै एकीकरणको तयारी भइरहेको बताएका हुन् ।

उनले भने, ‘नेकपा नाम भएका जति सबै पार्टी विजुली गतिमा फेरि एक होलान जस्तो दोखियो ।’

‘र, यो बोटबिरुवामा पालुवा पलाउने समय हो’, बास्कोटाले भने, ‘केही दिममै माओवादी र एस पनि एकीकृत हुन सक्ने प्रबल संभावना !’

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेर नयाँ सरकार बनाएका छन् ।

दाहालले कम्युनिस्ट एकताका लागि आफूले कांग्रेसँगको गठबन्धन तोडेको बताउने गरेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई एमालेमा मिल्न नदिन एमालेकै केही नेताहरू सक्रिय भएर लागेका बेला नेता बास्कोटाले माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकीकरणको खुलासा गरेका छन् ।

माधव नेपाललाई एमालेमा मिलाउन नेता बास्कोटा पनि अनिच्छुक छन् । एमालेका अध्यक्ष केपी ओली पनि अध्यक्ष नेपालसँग खासै सकारात्मक छैनन् ।

एमालेका नेता बास्कोटाको खुलासाले नयाँ गठबन्धनभित्र तङ्ग ल्याइदिएको छ । एमालेका अध्यक्ष ओली पार्टी एकीकरणलाई लिएर कुनै कुरा सार्वजनिक रुपमा बोलेका छैनन् ।

Published : Saturday, 2024 March 16, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया