रविबारे लिएको अडानबाट कांग्रेस ब्याक होला ? सहकारी घोटालाबारे सभापति यादवका दुई विकल्प

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता समेत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा लिएको अडानप्रति समर्थन जनाएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा सभापति यादवले कांग्रेसले सहकारी ठगी प्रकरणमा लिएको अडानलाई दुई वटा तरिकाले मात्रै समाधान गर्न सकिने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले कि गृहमन्त्री पदबाट राजीनामा दिने वा शक्तिशाली आयोग बनाउने दुई विकल्प यादवले दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेका विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेर सदन अबरोध गरेका विषयमा नेता यादवले भने, ‘संसदमा सबैभन्दा ठूलो दल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्रीको सहकारी ठगीको प्रकरणमा हाउसमै कुरा उठाइसकेपछि र एक प्रकारणले हाउसलाई ठप्प पारेको स्थिति छ ।’

कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेका रास्वपाका सभापति लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद अबरोध गरेर प्रधानमन्त्री दाहालको जवाफ माग गरेको छ । लामिछाने सहकारीको रकम ठगी काण्डमा मुछिएका छन् । लामिछानेले सहकारीको छानविनमा जुटेको सीआईबीको टोलीलाई पोखराबाट फिर्ता बोलाएका छन् । उनले सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यलाई हटाएर एआईजी श्याम ज्ञवालीलाई सीआईबीको प्रमुख बनाएका छन् ।

सभापति यादवले प्रश्न गर्दै भने, ‘त्यसबाट उम्कने तपाई कुनै बाटो देख्नु हुन्छ ?’ ‘अनुसन्धान गर्ने निकाय त्यही गृहमन्त्रीको अन्तर्गत छ । यदि उसले सक्दैन भने एउटा शक्तिशाली आयोग बन्न सक्छ’, उनले भने ।

सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यलाई सरुवा गरेर त्यो ठाउँमा श्याम ज्ञवालीलाई पठाइएको छ र त्यो पात्रले गर्ने अनुसन्धानमा प्रभाव पर्दैन ? भनेर सोधिएको प्रश्नको जवाफमा यादवले भने, ‘त्यसको दुई वटा उपाय छ । हिजोको दिनमा हेर्नुस् । सीआईबीले गरेको अनुसनधान सुन काण्डको उसले विश्वास भएन भने प्रमुख प्रतिपक्षले आवाज उठायो । र, आयोग बन्यो । आज त्यो आयोगको प्रतिवेदनले गर्दा भटाभट नेताहरू जाने स्थिति भएको छ ।’

‘यहि सहकारीको बारेमा पनि यदि शंका लग्यो र यो सीआईबीले पूर्णरुपले छानविन गर्न सक्दैन, यसलाई निष्कर्षमा पुर्‍याउन सक्दैन, यसलाई राजनीतिक दवाव हुन्छ भन्ने यदि बुझाइ गरियो भने त्यहाँ एउटा शक्तिशाली आयोग बनाउने माग हुन सक्छ’, उनले भने ।

‘त्यो आयोगमार्फत दुधको दुध पानीको पानी छुट्याउन सक्ने कुनै मन्त्री होस् या जोसुकै होस्’, सभापति यादवले भने, ‘न्यायिक छानविन आयोग बनाएर गयौं भने त्यो पनि हुन सक्छ ।’

‘मलाई लाग्दैन गल्ती गर्ने जो भए पनि बच्न सक्दैन । खाली ढिला हुन सक्छ । केही दिन शक्तिमा भयो भने त्यसलाई धकेल्न सक्छ’, उनले भने ।

‘सहकारीको विषयलाई कसैले चाहेर पनि दबाउन सक्दैन । रवि जी अहिले गृहमन्त्री हुनुहुन्छ’, यादवले भने, ‘नेपालको राजनीतिमा शुद्धीकरण गर्छु, नयाँपन दिन्छु भनेर आएको हो ।’

‘उहाँ आफैले पनि नैतिक रुपमा सहकारीमा के भएको हो ? कहाँ कहाँ बदमासी भएको हो ?’, प्रश्न गर्दै उनले भने, ‘हिजोको दिनमा उहाँ आफैले सहकारीको समस्या यसरी समाधान गर्नुपर्छ भनेर पार्टीको तर्फबाट प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएकै छ ।’

‘यसमा दुई वटा उपाय छ । या त उहाँ आफैले बाटो छोडिदिनु पर्‍यो । ल…त…म…यहाँबाट राजीनामा दिएर यो छानविन नसकुञ्जेल म हेर्छु’, यादवले भने ।

‘दोषी छैन भन्ने प्रमाणित भएर फेरि आउँछु भन्ने एउटा राम्रो बाटो त्यो हुन सक्छ । उहाँले यो छोड्नु भएन भने अब यसको बिकल्प शक्तिशाली आयोग बनाएर त्यसमा गृहमन्त्री लगायत जो जो सामेल हुन्छन् त्यसलाई छानबिनको दायरामा ल्याएर छानबिन गर्ने’, सभापति यादवले भने ।

रवि लामिछानेको बारेमा कांग्रेसको अडान कस्तो लाग्छ ? भन्ने प्रश्नको जिज्ञासामा यादवले भने, ‘त्यो जायज हो लाग्छ मलाई । नयाँ गठबन्धन बनेर नयाँ मन्त्री बनेको एउटा स्थिति छ । विगतमा बालकुमारीको घटना, टेरामक्सको घटनालाई लिएर सदन ठप्प भएको स्थिति थियो ।’

‘त्यस बेला एमाले प्रतिपक्षमा थियो । रविजीको पार्टी प्रतिपक्षमा थियो । राप्रपा प्रतिपक्षमा थियो’, जसपाका नेता यादवले भने, ‘उहाँहरूले जबसम्म मन्त्रीले बाटो क्लियर गर्दैन, प्रधानमन्त्रीले जवाफ दिँदैन तबसम्म अबरुद्ध रहन्छ भन्दा उहाँहरूले नै एक प्रकारको अभ्यास शुरु गरिसकेको हुनाले कांग्रेस जस्तो पार्टीले त्यो अडान लिइसकेपछि अब यसको निकास भनेको दुइटा हो ।’

‘एउटा त रविजीले आफै बाटो छोडेर ठीक छ तपाईहरूलाई शंका लाग्यो भने शंका निवारण नहुञ्जेल छानविन (राजीनामा) गर्छ भनेर हिँड्नु पर्‍यो’, उनले भने, ‘होइन भने सरकार र कांग्रेसको बीचमा सरकारमा भएको कारणले गर्दा अनुसन्धान प्रभावित हुन्न भन्ने त्यो प्रकारको विश्वासनीय मेकानिजम डेभलप गरियो भने त्यो एउटा उपाय हुन सक्छ ।’

सभापति यादवले भने, ‘त्यतिकै सरकारमा छु, पेलपाल गरेर अगाडि बढ्छु भन्ने स्थिति मलाई लाग्दैन ।’ ‘कांग्रेसले जुन प्रकारको स्ट्याण्ड लिइसक्यो हिजोको दिनमा अब मलाई के लाग्छ भने एउटा निष्कर्षमा पुग्नैपर्छ’, जसपाका नेता यादवले भने ।

Published : Saturday, 2024 March 16, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया