दाङमा टिप्पर आतंक, सिस्ने खोला नजिकै कालीप्रसादको मृत्यु, सडकमा प्रदर्शन

घोराही । दाङको बेलभ मा टिप्परको ठक्करबाट ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको छ ।

शुक्रबार राति सवा आठ बजे साइकल यात्री चौधरीलाई रा. १ ख. २१६२ नम्बरको टिप्परले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चौधरीलाई घोराही उप–महानगरपालिका– १७ सिस्ने खोला नजिक टिप्परले ठक्कर दिएको थियो ।

घोराहीबाट गोग्लीतर्फ जाँदै गरेको टिप्परले साइकल यात्री चौधरीलाई ठक्कर दिएर घाइते बनाएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाने क्रममा क्रममा मृत्यु भएको थियो ।

प्रहरीले टिप्पर चालक घोराही उप–महानगरपालिका– १७ बेलबार बस्ने वर्ष २९ को सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ ।

कालीप्रसाद चौधरीको मृत्यु भएपछि आफन्त र स्थानीयले टिप्परको आतंक रोक्नुपर्ने तथा दोषीलाई हदैसम्मको कारबाही माग गरेर शनिबार बिहान बेलभारमा प्रदर्शन समेत गरेका छन् । उनीहरूले मूल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

दाङ जिल्लामा रहेका सिमेन्ट उद्योगहरूका टिप्परहरूले अनियन्त्रित रुपमा सञ्चालन हुने, क्षमताभन्दा धेरै भार बोक्ने, चालकहरूलाई उचित तालिमको व्यवस्था नहुँदा दुर्घटना हुँदै आएका छन् ।

Published : Saturday, 2024 March 16, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया