सभापति डा.राणाद्वारा बाँदर नियन्त्रण तालिम लिन जाने टोलीलाई विदाइ, हिमाञ्चल जाने

काठमाडौं । बाँदर आतंक नियन्त्रणका लागि नेपाली पशु चिकित्सक र वन रक्षकको टोली भारतको हिमाञ्चल प्रदेश जाने भएको छ ।
भारत सरकारको सहयोगमा जान लागेको १५ सदस्यीय टोलीलाई शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बिदाइ गरेको छ । टोलीमा ११ जना भेटनरी डाक्टर र चार जना फरेस्ट रेन्जर छन् । टोली आइतबार भारततर्फ प्रस्थान गर्नेछ ।
समितिमा बाँदर आतंकबाट पीडित किसानबाट नियन्त्रणको पहल गरिदिन उजुरी आएपछि सभापति डा.आरजु राणा देउवाले समन्वय गरेकी थिइन् । समितिका तर्फबाट भारतीय राजदूतावासलाई पत्र लेखेर सभापति डा.राणाले हिमाञ्चलको सिम्लामा सञ्चालित बाँदर बन्ध्याकरण कार्यक्रममा नेपाली पशु चिकित्सक र वन रक्षकलाई सहभागी गराउन अनुरोध गरेकी थिइन् ।
समितिको अनुरोधअनुसार भारत सरकारले नेपाली टोलीलाई बाँदर बन्ध्याकरणसम्बन्धी सीप प्रदान गर्न लागेको हो । सभापति डा.राणाले नेपालमा बाँदर आतंक ठूलो मात्रामा किसानहरूले भोगिरहेको बिकराल समस्या बनेको भन्दै नेपाली चिकित्सकहरू प्रशिक्षित भएर नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने बताइन् ।
‘हाम्रो कानूनले बाँदर मार्न दिँदैन । बाँदर आतंक विकराल समस्या छ, थुप्रै उजुरी आएका छन्’, डा.राणाले भनिन्, ‘सरसल्लाह गर्दा परिवार नियोजनमा जाने सुझाव आयो । हामीसँग जनशक्ति र औजार भए पनि नवीन सीप छैन । त्यसैले यो तालिम बाँदर आतंक नियन्त्रणमा महत्वपूर्ण हुनेछ ।’
बन्ध्याकरणबाट बाँदरको संख्या २/३ वर्षमा संख्या घट्दै जाने भारतको अभ्यासले देखाएको भन्दै सभापति डा.राणाले सिकेको सीपलाई व्यवस्थित रुपमा प्रयोगका लागि बजेट व्यवस्थापन गर्न सरकारसँग माग गरिन् ।
‘भारतका सिकेको सीपलाई हामीले प्रदेशहरूमा विस्तार गर्नुपर्छ । तालिम प्रणाली व्यवस्थित गर्न सरकारले बजेट विकास गर्नुपर्छ । म संसदमा पनि यो कुरा उठाउँछु’, उनले भनिन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास सचिव रेवतीरमण पौडेलले बाँदरको आतंक नियन्त्रण गर्न सजिलो नभएको बताएका छन् । उनले किसानको बालीनाली नष्ठ गरिरहेको र नियन्त्रण चुनौती बनेका बेला सीप आदानप्रदान अतिआवश्यक रहेको बताए ।
‘मार्न प्रतिबन्ध छ, त्यही भएर बन्ध्याकरणको निष्कर्षमा पुगेर तपाईहरूलाई सीप सिक्न पठाइँदैछ । पूर्ण दक्षता हासिल गरेर विज्ञहरू बनेर आउनुस् । तपाईंहरू मास्टर ट्रेनर हो’, उनले भने ।
समितिका उपसचिव शिवदत्त बरालले बाँदर नियन्त्रणका लागि किसानबाट थुप्रै निवेदन आएको र बन्ध्याकरणको मोडल कार्यान्वयनका लागि भारतसँग समन्वय गरिएको बताए । उनकाअनुसार बब्लु ठाकुरको नेतृत्वमा नेपाली टोली आइतबार दिल्ली हुँदै चण्डीगढ जानेछ । नेपाली प्रतिनिधिमण्डले पाँच दिन सिम्लामा तालिम लिनेछ । टोली दिल्ली हुँदै ११ चैतमा स्वदेश फर्किनेछ । प्रतिनिधिमण्डलको सबै खर्च भारतले व्यहोर्नेछ । कर्मचारीलाई भत्ता पनि प्रदान गर्नेछ ।
टोलीमा पशु चिकित्सकहरू मनोज महतो, रन्जित अधिकारी, बब्लु ठाकुर, अनन्त कोइराला, हरिनारायण प्रसाद थारु, भीमप्रसाद तिमिल्सिना, विनोद कठायत, सुलेश्वर मण्डल, विशाल चन्द, विकास गिरि र चन्द्रकला राना छन् ।
रेन्जरतर्फ अक्षय चौधरी, पुरनदेव मिश्र, दीपककुमार चन्द र खिमराज ओली छन् । टोलीलाई बाँदर बन्ध्याकरणका अलावा नियन्त्रणका अन्य उपाय पनि बुझेर आउन भनिएको छ । ‘दीर्घकालीन रूपमा भारतसँग सहकार्यका लागि के सम्भावना हुन्छ, हेरेर आउनुस्’, सभापति डा.राणाले भनिन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया