सहकारीको रकम दुरुपयोग काण्डमा परेका लामिछानेको दिनगन्ती, कांग्रेसले दियो औपचारिक अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद बद्री पाण्डेले सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेका गृहमन्त्री रवि लामिछानेबारे उचित जवाफ दिन सरकारसँग माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुरुमा समय लिएर बोल्दै सांसद पाण्डेले सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेका लामिछानेको विषयमा उपयुक्त जवाफ नदिए कठोरतापूर्वक प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले रवि लामिछानेलाई गृहमन्त्री बनाएको बारेमा चित्त बुझ्दो जवाफ नदिए सदन अबरोध हुन सक्ने संकेत गरेका छन् ।

‘प्रतिपक्षको जायज प्रश्नलाई प्रधानमन्त्रीले कसरी जवाफ दिनुहुन्छु ? दु:खको दुध, पानीको पानी छुट्याएर पीडितलाई न्याय दिने गुरुत्तर अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो ? यसको जवाफ नेपाली कांग्रेसले खोजेको छ’, उनले भने ।

‘आजको कार्यसूचीमा रहेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलको अर्जेन्सीलाई मध्यनजर गर्दै आजको सदन सुचारु हुन दिन जिम्मेदारीपूर्वक प्रमुख प्रतिपक्षले देखाएको सदभावलाई कमजोर नठानियोस्’, पाण्डेले भने ।

‘यथाशीघ्र सम्माननीय सभामुखज्यूलाई रुलिङका लागि आग्रह गर्न चाहन्छु’, उनले भने, ‘प्रधानमन्त्रीको यथाशीघ्र जवाफ हामीलाई चाहिन्छ । अन्यथा नेपाली कांग्रेसले जुन बिनम्रता देखाएको छ आगामी दिनमा कठोरतापूर्वक प्रस्तुत हुनुपर्ने बाध्यता सिर्जना नहोस् ।’

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको मन्त्रिपरिषद विस्तारमा उप–प्रधानमन्त्रीको पोर्टफोलियोसहित गृहमन्त्रीको जिम्मेदारी अनुसन्धानको दायरामा रहेका माननीय सदस्यलाई सुम्पिएपछि उहाँप्रतिको झिनो आशाको भ्रम धुजाधुजा भएको छ ।’

‘विश्वासको मतमाथि छलफलको क्रममा हाम्रो पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, अन्य थुप्रै नेताहरू तथा हिजोको बैठकको प्रारम्भमा हाम्रो संसदीय दलका सचेतक सुशीला थिङ्गको गम्भीर प्रश्नमाथिको जवाफमा जुन नेक्लिजेन्सी प्रधानमन्त्रीबाट प्रकट भयो यसबाट हामी थप चिन्तित भएका छौँ’, पाण्डेले भने ।

‘यो पनि भ्रम नहोस् कि प्रधानमन्त्री वा माननीय रवि लामिछानेप्रति मेरो व्यक्तिगत वा दलगत आग्रह पूर्वाग्रह छ कि भनेर नपरोस् । माननीय रवि लामिछाने हाम्रो पुस्ताको राजनीतिक दौतरी हुनुहुन्छ’, उनले भने, ‘उहाँको राजनीतिक उन्नयनमा हामी पनि त्यतिकै उत्साहित हुने गर्छौं । कुरा व्यक्तिगत होइन ।’

‘कुरा गहन राजनीतिक र नैतिक मुद्दाको हो । विषयवस्तुको हो’, उनले भने, ‘राजनीतिकमा सकारात्मक वा नकारात्मक नजिर स्थापित गर्ने, संसदीय गरिमा र मूल्य, मान्यताको हो ।’

उनले भने, ‘राजनीतिक, सामाजिक, निराशालाई मलजल गर्ने गरी आर्थिक निरासा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा तीन खम्बे अर्थनीतिको तुलनात्मक रुपमा कम मक्किनुपर्ने क्षेत्र नै उठ्नै नसक्ने गरी थला पर्नु सामान्य विषय होइन ।’

‘आफ्नो पेट काटेर थोरै थोरै बचत गइरहेका न्यून आए भएका करिव पौने करोड सेयर सदस्यको पसिनाको कमाइ केही ठगहरूले कुम्ल्याउँदाको परिणाम देशभरि अविश्वास, असुरक्षा र आक्रोश चुलिएको छ’, सांसद पाण्डेले भने ।

‘आजै र अहिल्यै देशभरिबाट आएका सहकारी पीडितहरूको प्रदर्शन राजधानीका विभिन्न स्थानहरूमा एकसाथ प्रारम्भ हुँदैछ’, उनले भने, ‘आफ्नो बचतको सावा व्याज फिर्ता नपाउने हो भने जस्तोसुकै मूल्य चुकाउन बाध्य रहेको उहाँहरू बताइरहनुभएको छ ।’

‘विषम परिस्थितिमा अनुसन्धानको कमाण्ड सम्हाल्नु पर्ने निकायको कमाण्डर गृहमन्त्री गम्भीर अनुसन्धानको दायरमा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छभने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ’, कांग्रेसका सांसद पाण्डेले भने ।

‘सहकारीको आदर्श विपरित गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति पाउनै नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनु हुन्छ ?’, उनले भने ।

‘कतै तपाईको पोजिशनलाई रक्षाकवच बनाएर १/२ करोडको मात्रै अभियोग लागेका तपाईलाई शिखण्डीको भूमिकामा पारेर दशौं अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपन्चको जानीनजानी तपाई हतियार त बनिरहनुभएको छैन ?’, सांसद पाण्डेले भने ।

Published : Thursday, 2024 March 14, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया