‘सुन र पुन’को खोजी गर्न राज्य व्यवस्थाको बैठक आह्वान, तथ्य बाहिर आउँदा पनि प्रचण्डले अर्थमन्त्री बनाए
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका तत्कालीन उप–राष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री वर्षमान पुन सुन तस्करी प्रकरणमा मुछिएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल गर्ने भएको छ ।
समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणमा तत्कालीन उप–राष्ट्रपति नन्दबहादुर र अर्थमन्त्री वर्षमानबारे आएको तथ्यहरूका बारेमा छलफल हुने बताएका छन् । उनले भने, ‘सुन र पुन जोडिएर आएको छ । यो विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुन्छ । बैठक बोलाइएको छ । संसदको बैठक लगातार भएका कारण केही ढिला बस्नेछ ।’
सुन तस्करी प्रकरणमा तत्कालीन उप–राष्ट्रपति नन्दबहादुर पुनका जितेन्द्र पुन (जेठो छोरा) र दीपेश पुन (कान्छो छोरा) तथा सचिवालका सदस्यहरू नै संलग्न रहेको तथ्यहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फेला पारेको छ ।
सुन तस्करी प्रकरणमा जोडिएको तथ्यहरू बाहिर आउँदा पनि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षमान पुनलाई अर्थमन्त्री बनाएर राज्यको ढुकुटी जिम्मा लगाएका छन् ।
तत्कालीन उप–राष्ट्रपति नन्दबहादुर पुनलाई राज्यको सुरक्षा र सेवा सुविधा दिएर प्रधानमन्त्री दाहालले राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया