दुई दिन अगाडि प्रचण्डसँग माधव नेपालले राखे पूर्वसर्त, कम्युनिस्ट सरकारलाई संकट आउन सक्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुभन्दा दुई दिन अगाडि नेकपा (एकीकृत समाजवादी)ले पूर्वसर्त अगाडि बढाएको छ ।
सोमबार सिंहदरबारमा बसेको नेकपा (एकीकृत समाजवादी)को बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभन्दा अगाडि लिखित सहमतिको माग गरेको हो । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री दाहालसँग केही प्रस्ताव राखेका छन् । ती प्रस्तावबारे केही भनिएको छैन ।
दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै विश्वासको मत दिने सर्त अघि सारेको प्रमुख सचेतक मेटमणि चौधरीले बताएका छन् ।
चौधरीले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै सहयोग गर्ने पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् ।
आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको चौधरीले बताएका छन् ।
‘भोलि (मंगलबार) हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत दिने बारेमा निर्णय गरेका छैनौँ’, उनले भने ।
‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिन सक्छौँ’, प्रमुख सचेतक चौधरीले भने ।
‘प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजेटिभ हुन सक्छौँ’, चौधरीले भने, ‘उहाँ (प्रचण्ड)ले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भरपर्छ ।’
उनले भने, ‘सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भरपर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’ सरकारले अघि बढ्ने की ढल्ने भन्ने कुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिन र राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा पूर्वसर्त अगाडि बढाएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई तनाब बढाइदिएको छ ।
सरकारमा सहभागी भएको नेकपा (एकीकृत समाजवादी)ले दाहाललाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मत दिएन भने कम्युनिस्ट गठबन्धनलाई ठूलो झट्का लाग्नेछ । दाहाल सरकार ढल्न पनि सक्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया