कांग्रेसले अध्यक्षमा शर्मालाई दियो टिकट, प्रचण्डका भाइसँग भिड्न लागेका शर्मा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा पार्टीको तर्फबाट युवराज शमाको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

आइतबार बुढानिलकण्ठस्थित सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट युवराज शमाको उम्मेदवारीको प्रस्ताव दर्ता गर्न ।’

‘नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा मतदान गर्न राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरूसँग समेत अनुरोध गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

एमाले र माओवादी केन्द्रको कम्युनिस्ट गठबन्धनले प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसमा अध्यक्षको टिकट पाएका को हुन् शर्मा ?

अध्यक्ष पदमा टिकट पाएका शर्मा सभापति शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी हुन् । बाँकेका शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन् । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए ।

शर्मा राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट निर्वाचित भएका हुन् । २०२७ सालमा भारतको बनारसबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा उनी सहभागी भएका थिए । २०२८ सालमा देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए ।

शर्मा बाँके कांग्रेसको सभापति बाहेक अरु ठूलो पदमा अहिलेसम्म पुगेका थिएनन् । कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला सुशील कोइराला समूहले पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् ।

२०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भए पनि विगतदेखि हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् ।

पञ्चायत विरोधी गतिविधी गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल समेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू ३र४ वर्षजति जेल बसेको उनी बताउँछन् ।

पार्टीको राजनीतिमा रहँदा उनको सुशील कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडि बढ्दै गए । कोइराला र शर्माबीच द्वन्द्व बढ्दै जाँदा उनले राजनीतिक अवसर नपाएको बताइने गरिएको छ ।

कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडि सारेर सांसद बनाए । शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए ।

शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए ।

Published : Sunday, 2024 March 10, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया