प्रचण्डद्वारा कांग्रेस नेताहरूसँग भेटवार्ता, कुरा सुनेर निराश

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान बालुवाटारमा कांग्रेस नेताहरूले दाहालसँग भेट गरेका हुन् । दाहालसँगको भेटका लागि कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगको भेटमा नेता सिटौलाले कांग्रेसलाई धोका दिएको भन्दै आपत्ति जनाएका छन् । नेता लेखकले प्रधानमन्त्री दाहालले धोकाको राजनीति शुरु गरेको भन्दै धोकाको राजनीति तत्काल नटुंगिने चेतावनी दिएका छन् ।

राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनेर सबभन्दा पहिले दाहालले भनेको कुरा पनि नेता सिटौलाले स्मरण गराएका छन् । दाहालकै कारण आफू राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेको सिटौलाले बताएको एक नेताले उल्लेख गरेका छन् । ‘पार्टीलाई धोका त भयो भयो’, सिटौलाले भने, ‘तपाईंका कारण मलाई पनि धोका भयो ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का नाममा एमालेका अध्यक्ष केपी ओलीलाई बोलाउँदै नयाँ सत्ता समीकरण बनाउने काम गरेको सिटौलाले प्रधानमन्त्री दाहाललाई बताएका छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई गठबन्धनलाई निरन्तरता दिने भन्ने गरेका थिए । एमालेका अध्यक्ष ओलीसँग दाहालले वार्ता गरेका थिए ।

सिटौलाले दाहाललाई भने, ‘त्यो बेला केही पनि छैन भनिरहनुभयो । अहिले आएर ४/५ महिनादेखि केपी ओलीसँग कुरा गरिरहेको थिएँ भन्नुहुन्छ । यसरी ढाँट्ने ?’

कांग्रेस नेता सिटौला ‘तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहिँ टुंगिन्छ भनेर नठान्नुहोला’ भनेर दाहाललाई चेतावनी दिएका छन् ।

कांग्रेस नेताहरूको चेतावनीपछि प्रधानमन्त्री दाहाल निकै तनावमा देखिएका छन् । एमालेसँग मिलेर कम्युनिस्ट गठबन्धन बनाएका दाहालले कांग्रेसलाई बीच सडकमा ल्याएर ठूलो धोका दिएका छन् ।

Published : Sunday, 2024 March 10, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया