कांग्रेसले कम्युनिस्ट गठबन्धनलाई सहज रुपमा अध्यक्ष नदिने, उम्मेदवार उठाउने
काठमाडौं । कम्युनिस्ट गठबन्धनले सरकार बनाएको चौथो दिन नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
शनिबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा सत्ता गठबन्धनमा नरहेका दलहरूसँग छलफल गर्नेछ ।
फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको हुन लागेको छ । कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा ल्याउन खाेजेकाे थियाे । गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धाेका दिएर एमालेसँग घाँटी जाेड्न गएपछि सिटाैलाका बारेमा के गर्ने भन्नेमा परामर्शमा छ ।
कांग्रेसको पक्षमा राष्ट्रियसभामा पर्याप्त संख्या छैन । सत्ताभन्दा बाहिर रहेका दलहरूले साथ दिँदा पनि कांग्रेसले अध्यक्षमा जित्ने सम्भावना छैन ।
राष्ट्रियसभामा माओवादी केन्द्र, एमाले, नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालको पर्याप्त बहुमत छ ।
माओवादीले राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउन चाहेको छ । नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।
उपाध्यक्षमा एमालेले दाबी गरेको छ । एमालेले कसलाई उपाध्यक्ष बनाउने हो केही भनेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया