सुदूरपश्चिममा कांग्रेसको सरकार बहुमत नजिक, कम्युनिस्ट गठबन्धनलाई झट्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीले शपथ लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार बहुमत निकट पुगेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार राति नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई शपथ गराएका छन् ।

नागरिक उन्मुक्तिको संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुसीराम चौधरीलाई विनाविभागीय र इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ ।

यसअघि नागरिक उन्मुक्तिका तर्फबाट रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन् ।

नागरिक उन्मुक्तिले सोही मन्त्रालयको राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर गिरीलाई राज्यमन्त्रीमा पठाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ सदस्य छन् ।

नागरिक उन्मुक्तिका सात सदस्य छन् । मुख्यमन्त्री शाहलाई २५ सदस्यको समर्थन छ । शाहलाई दुई सांसदको समर्थन आवश्यक पर्छ ।

स्वतन्त्र सांसदले यसअघि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि हाल उनी प्रतिपक्ष छन् । स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य डा.तारा जोशी छन् । राप्रपाबाट प्रदेशसभा सदस्य खिमादेवी विष्ट छिन् ।

राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरेको अवस्थामा सरकारलाई बहुमतका लागि आवश्यक २७ सिट पुग्छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सात मन्त्रालय रहेकोमा दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैँसँग राखेका छन् ।

कम्युनिस्ट गठबन्धनको पक्षमा नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका चार गरी २४ सिट छ ।

नागरिक उन्मुक्तिको समर्थनविना गठबन्धनले पनि सरकार गठन गर्न सक्ने अवस्था छैन । कांग्रेसबाट निर्वाचित एक सदस्यको दुर्घटनामा निधन भएपछि प्रदेश सभामा अहिले ५२ सदस्य छन् ।

Published : Saturday, 2024 March 9, 8:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया