साठी किलो सुन प्रकरणमा मुछिएका पुनलाई अर्थमन्त्री बनाएर प्रचण्डद्वारा पुरस्कृत

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणकी नाइकेसँग नाम जोडिएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।

पुन अर्थमन्त्री बनेपछि सुन तस्करीमा संलग्नहरूले फेरि टाउको उठाउने हुन् कि भनेर आशंका उठेको छ ।

पुन र पूर्व उप–राष्ट्रपति नन्दबहादुर पुनका पारिवारिक सदस्यहरू सुन तस्करीमा संलग्न गिरोहसँग सम्पर्क र सम्बन्धमा रहेको पुष्टि हुने गरी तस्वीर सार्वजनिक भएका थिए ।

साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद भएको थियो । हङकङबाट ल्याइएको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

सुन तस्करीमा पुनको नाम जोडिए पनि उनलाई राजनीतिक शक्तिको आडमा बचाएको आरोप छ । पूर्वसभामुख कृष्णबहादुर महराले पनि सुन तस्करी प्रकरणमा बयान दिइसकेका छन् । महराका छोरा पुर्पक्षका लागि थुनामा छन् ।

पुनसँगै बसेको र खाना खाएको तस्वीर समेत सार्वजनिक भएको थियो । उनका पारिवारिक सदस्य सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको थियो ।

सुन तस्करीका मुख्य नाइके बेल्जियम नागरिक दावा छिरिङलाई राजस्व अनुसन्धान विभागले समातेर छानबिन गरेको थियो । दाङले नेपालको नक्कली नागरिकता लिएका थिए ।

अर्थमन्त्री पुनले दावासँग बिहे गरेकी अमला रोका आफ्नो गाउँले बहिनी भएको दाबी गर्दै आएका छन् ।

पुनमाथि सुन तस्करी प्रकरणका विषयमा अनुसन्धान हुन सकेको छैन । राजनीतिक शक्तिको आडमा पुन सुन तस्करी प्रकरणबाट बच्दै आएका छन् ।

सुन तस्करी प्रकरणमा नाम जोडिए पनि पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री बनाएर पुरस्कृति गरेका छन् ।

Published : Friday, 2024 March 8, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया