अंकगणितमा प्रचण्डको धरातल निकै कमजोर, कांग्रेसको पालामा जस्तो छैन संख्या

काठमाडौं । कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा (एमाले)प्रति निकै विश्वास गरेका दाहालले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । नेपाली कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलको बेन्चमा बस्न शुरु गरेको छ ।

फागुन २० गते राति माओवादी केन्द्र र एमालेबीच कम्युनिस्ट गठबन्धन बनेको छ । दाहालले कांग्रेसका मन्त्रीसहित सबै मन्त्रीहरूलाई हटाएर मन्त्रिमपरिषद पुनर्गठन गरेका थिए । माओवादीका सुदन किराँती बाहेक सबै मन्त्रीहरू दोहोरिएका छन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको सदनलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री दाहालले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभाको बैठक फागुन ३० गते बस्नेछ । कम्युनिस्ट गठबन्धनको समीकरण भत्किन नदिन र चलखेल रोक्न दाहालले फागुन ३० गतेको बैठकबाट विश्वास मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले यसपटक सरकार टिकाउने मत पाउनेछन् । दाहालको कम्युनिस्ट गठबन्धनको सरकार निकै कमजोर धरातलमा बनेको छ । दाहाललाई सरकार टिकाउनुपर्नेभन्दा करीव १०/१५ सांसदको संख्या धेरै छ ।

कांग्रेसले समर्थन गरेको जस्तो बलियो सरकार यसपटक हुनेछैन । बहुमत पनि पहिलाको जस्तो रहनेछैन । फागुन २१ गते प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ सांसद गरी १४१ सांसदको समर्थन जुटेको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ । यो मत बहुमतभन्दा जम्मा ४ सीटले मात्रै धेरै हो । नेकपा (एकीकृत समाजवादी)ले दाहाललाई ५ दलको १५२ सांसदको समर्थन जुट्ने देखिएको छ ।

कांग्रेसको ८७, राप्रपाको १४, जनमतको ७, लोसपा र नागरिक उन्मुक्ति पार्टीको ४/४ गर्दा ११६ मत गठबन्धन बाहिर देखिएको छ । कांग्रेसले पनि अर्को विपक्षी मोर्चा खडा गर्ने गरी दलहरूबीच संवाद अगाडि बढाएको छ ।

माओवादीले अप्रत्याशित धोका दिएको भन्दै एमालेलाई प्रधानमन्त्री प्रस्ताव गरेर जानुपर्ने बहस समेत कांग्रेसमा शुरू भइसकेको छ ।

सरकारमा अब दुई मन्त्री र केही राज्यमन्त्री मात्रै चयन हुन बाँकी छन् । यी दुई मन्त्रालय पनि जसपाले पाउने पक्का भएको छ ।

एमालेको समर्थनमा २०७९ मा १० पुसमा प्रधानमन्त्री बनेपछि दाहालले २६ पुसमा ९८ प्रतिशत बढीको समर्थन पाएका थिए ।

चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमाले समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए । त्यस बेला दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

कांग्रेससँग पहिलोपटक २६८ सांसदको समर्थन पाउँदा दोस्रोपटक चैत ६ मा १७२ सांसदको समर्थन पाएका थिए ।

Published : Friday, 2024 March 8, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया