महिलामाथिको भेदभाव अन्त्य गर्न महिला र पुरुष दुबैको सक्रिय भूमिका आवश्यक छ : सभापति डा.राणा
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले विश्वभरिका महिलामाथि आज पनि कुनैन कुनै प्रकारका विभेदहरू कायम रहेको बताएकी छिन् ।
शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश जारी गरेर सभापति डा.राणाले महिलाहरूले कार्यस्थलमा विभेदका साथै समान अवसरहरूका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएको बताएकी छिन् ।
डा.राणाले भनिन्, ‘हामी सबैले हातेमालो गरेर चुनौतीहरू पन्छाउँदै जानुपर्नेछ । आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरू तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ ।’
‘विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभुत आवस्यकतामै विभेद र शोषण भोग्दै आएका छन्’, डा.राणाले भनिन्, ‘उनीहरूलाई न्याय र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानूनमार्फत अभ्यासमा आएका छन् ।’
उनले भनिन्, ‘नेपाली नारीहरूले आफूले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन् । महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं ।’ महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको नेपाली महिलाहरूको गौरवमय इतिहाँस रहेको डा.राणाले बताएकी छिन् ।
सभापति डा.राणाले नयाँ युगको हाँकलाई आत्मसाथ गर्न डिजिटल प्रविधिको पहुँच र प्रयोगमा महिलाहरूको समान सहभागिता हुन जरुरी रहेको बताएकी छिन् ।
उनले भनिन्, ‘महिलाहरूलाई आर्थिक अवसरहरूमा सहभागी गराउँदै उनीहरूको स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार गरेर समाजमा सक्षम हुन सहयोग पुर्याउँछ ।’
‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रुपमा महिला मैत्री नीति र कानूनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु’, सभापति डा.राणाले भनिन्, ‘ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’
सभापति डा.राणाले महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका आवश्यक पर्ने बताएकी छिन् । उनले महिला वर्गलाई आफ्नो आर्थिक उन्नति गर्न मुद्दत गर्न सक्नुपर्ने बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया