आन्दोलनहरूमा कैयन महिला दिदी बहिनीले आहुती गर्नु भएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दिदी बहिनीहरूमा हार्दिक शुभकामना प्रकट गरेका छन् ।
शुक्रबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताएका छन् ।
उनले भने, ‘शहरदेखि दुर दराजका गाउँहरूमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् ।’
‘महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भने ।
‘नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी बहिनीहरूले आफ्नो प्राणको आहुती गर्नु भएको छ’, उनले भने ।
‘म उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दछु’, देउवाले भने, ‘आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरूको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिदै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा पुन: हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया