लामिछानेप्रति लक्षित गरेर कांग्रेसका खतिवडाले उठाए गम्भीर प्रश्न, दाहाल र ओलीसँग नैतिक दम छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गरेर सहकारी पीडितलाई न्याय र सहकारी ठगहरूलाई कारबाही गर्न आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले सहकारी पीडितले न्याय पाउनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछाने सहकारीको रकम ठगी काण्डमा मुछिएका छन् । लामिछानेविरुद्ध पोखरामा उजुरी परेको छ । लामिछानेका तत्कालीन बिज्नेश पार्टनर गितेन्द्रबाबु राई (जीबी राई)ले अर्बौं रकम ठगी गरेर फरार रहेका छन् । राईलाई पक्राउ गर्न रेड नोटिस जारी भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले भने, ‘अब सरकारलाई जनताले पनि भेटोस् । जनताले पनि भेटोस् । सहकारी पीडितहरूले न्याय पाउन् । सहकारी ठगीहरूले कारबाही पाउन् । मिटर व्याजीले न्याय पाउन् । लघुवित्त पीडितले न्याय पाउन् ।’

खतिवडाले हराएका प्रधानमन्त्री भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्याङ्ग्य गरेका छन् । उनले भने, ‘सर्वप्रथम हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेट्नुभएकोमा सबैलाई हार्दिक बधाइ र धन्यावाद दिन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले उप–प्रधानमन्त्रीहरू धेरै बनाएर राज्यलाई आर्थिक भार पारेको भन्दै आलोचना गरेका छन् ।

उनले भने, ‘उप–प्रधानमन्त्रीहरूको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ । अझै उप–प्रधानमन्त्रीहरू तलैसम्म आउने अवसर प्राप्त होस् शुभकामना ।’

‘अब काँध फेर्ने कुरा आयो । काँध फेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्ने तयार हुनुहुन्छ’, खतिवडाले भने, ‘खुट्टा फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

उनले भने, ‘ओखलढुङ्गाका धेरै विकास आयोजनाहरू पछाडि परेका छन् । यसलाई अगाडि लाने काम होस् । सबैलाई शुभकामना दिन्छु ।’

कांग्रेसका सांसद खतिवडाले एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गरेर ‘बा’ नगरपालिका घोषणा गर्न सुझाव दिएका छन् । उनले भने, ‘अब छोरी नगरपालिका भन्थे, बा नगरपालिका पनि घोषणा होस् शुभकामना ।’

Published : Thursday, 2024 March 7, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया