कांग्रेसद्वारा दाहालका आरोपहरु खारेज

काठमाडौं । नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बुढानिलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भनेको छ, ‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ ।’

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचन मार्फत मतदाताले दिएको म्याण्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो ।’

‘तर त्यो म्याण्डेडलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन’, कांग्रेसले भनेको छ ।

‘संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘कार्यसम्पादन समितिको यो बैठक यो घटनालाई गम्भीर ढंगले लिंदै संसदमा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गर्दछ ।’

प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष दाहालले कांग्रेसप्रति अर्थमन्त्री डा.प्रकाशशरण महतले असहयोग गरेको जस्ता आक्षेपहरु लगाएर गठबन्धन तोडेका जस्ता कुरा बाहिर आएपछि कांग्रेसले खण्डन गरेको छ ।

Published : Tuesday, 2024 March 5, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया