नेताहरुलाई गाली र आलोचना गरेर मात्रै देश बन्दैन : कांग्रेस सहमहामन्त्री उपाध्याय

लिस्बन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले गाली र आलोचना गरेर मात्रै देश नबन्ने बताएकी छिन् ।

कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति पोर्चुगलले राजधानी लिस्बनमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले देश बनेन भनेर आलोचना र नेताहरुलाई गाली गरेर देश नबन्ने बताएकी छिन् ।

उनले देश बनाउनका लागि सकारात्मक मानसिकताका साथ परिवर्तनको बाटोमा लाग्नुपर्ने बताइन् ।

नेपालीहरुले विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर, आफ्नो देशमा केही गर्न तयार नहुने प्रवृत्तिका कारण बेरोजागारी बढेको उपाध्यायले बताएकी छिन् । उनले श्रमको सम्मान गर्न सके नेपालमा पनि पर्याप्त रोजगारी उपलब्ध हुन सक्ने बताएकी छिन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले आरोप प्रत्यारोप र नकारात्मक मानसिकता त्यागेर देशको विकास र सम्बृद्धिका लागि सबैले आफूलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् ।

लामाले राजनीतिक संघर्षबाट धेरै उपलब्धि हासिल भएको बताउँदै दायित्वबोध र जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको बताएका छन् ।

पोर्चुगलबासी नेपालीमा देखा परेका समस्याहरुको समाधान क्रमिक र प्रकृयागत रुपमा भइरहेको बताउँदै नेता लामाले विदेशमा सिकेका सीपलाई देश निर्माणमा लगाउन प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति एवम् बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तीर्थबहादुर लामा, पार्टीका केन्द्रीय सदस्य नानुमाया बास्तोलाले शुभकामना मन्तब्य दिएका थिए ।

समितिका सभापति युवराज पन्थीको सभापतित्व, उपसभापति बिपिन अर्यालको स्वागत तथा महामन्त्री अर्जुन अर्यालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक सभापति पूर्णबहादुर हमाल, पूर्व सभापति लक्ष्मी प्रसाद सापकोटा, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, गैर आवासीय नेपाली संघका आईसीसी सदस्य राजकुमार थापा, संघका पोर्चुगल अध्यक्ष उमेश खड्का लगायतले बोलेका थिए ।

Published : Monday, 2024 March 4, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया