ईन्स्पेक्टर सिंहले समयमा न्याय दिन आलटाल गरेपछि सहिदा खातुनकाे ज्यान गयाे, भालुबाङ दिनभरि तनाबपूर्ण

देउखुरी । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उज्वलबहादुर सिंंहकाे चरम लापरवाहीले न्याय पाउनबाट बन्चित भएकाे भन्दै विवाहित महिलाले ज्यान दिएको अभियाेग लागेकाे छ ।

दाङकाे राप्ती गाउँपालिकाकाे भगवानपुरमा विवाह गरेकी २४ वर्षीया सहिदा खातुनले घरेलु हिंसाबाट छुट्कारा पाउन सराेकारवाला निकायबाट न्याय पाउन नसकेकाे भन्दै सहिदाले फागुन १५ गते राति करिब ९ बजे माइतीघरमा काेठाभित्र झुन्डिएर ज्यान दिएकाे सहिदाकी आमा नसिबु निशाले बताएकी छिन् । इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी लिएर गएकी सहिदाकाे निवेदन इन्स्पेक्टर सिंहले दर्ता गर्न नमानेकाे पीडितकी आमा निशाले बताइन् ।

सहिदाले न्यायका लागि राप्ती गाउँपालिकामा पनि उजुरी दिएकी थिइन् । गाउँपालिकामा पनि कुनै सहमति हुन सकेकाे थिएन । त्यसपछि सहिदा प्रहरीमा पुगेकी हुन् । सहिदाका पति २५ वर्षीया राजु भन्ने माेहम्मद आरिफ खानले दाइजाे माग गरेर कुटपिट गर्ने, गालीगलौज गरेर घरेलु हिंसा निरन्तर गरेपछि सहिदा डिप्रेशनमा पुगेको माइतीपक्षकाे भनाइ छ । सहिदाले घरेलु हिंसाका कारण दबाइ सेवन गर्दै आएकी थिइन् ।

शुक्रबार बिहान सहिदाकी आमासहित छिमेकीहरू न्यायका लागि भालुबाङ प्रहरीमा गएका थिए । इन्स्पेक्टर सिंहले क्षेत्राधिकारभन्दा बाहिरकाे कुरा गरेर मृत्तक सहिदाकी आमालाई तनाब दिएकाे आराेप छ । सहिदाकाे मृत्युु प्रकरणमा उनका पति माेहम्मद आरिफ खान भन्ने राजु र उनको घरपरिवार, इन्स्पेक्टर सिंहविरुद्व दुरुत्साहनकाे मुद्दा चलाउनुपर्ने माग उठेको छ । सहिदाले ज्यान दिएपछि शुक्रबार दिनभरि भालुबाङ तनाबपूर्ण बनेकाे छ ।

प्रहरीसमक्ष कुनै पनि पीडितले न्यायका लागि उजुरी लिएर जान्छ भने प्रहरीले निवेदन दर्ता गरेर अनुसन्धान गर्नुपर्छ । तर, भालुबाङका ईन्स्पेक्टर सिंहले सहिदाकाे निवेदन दर्ता गर्न मानेनन् । इन्स्पेक्टर सिंहले विभिन्न प्रमाणहरू माग गरेर सहिदाकाे मागकाे सुनुवाइ समयमा नगरिदिँदा सहिदाले ज्यान दिएकी छिन् । ईन्स्पेक्टर सिंहले सहिदाकाे निवेदनका बारेमा कानून व्यवसायीहरूसँग राय लिन लागेकाे भनेर काइते प्रतिक्रिया दिएका छन् । सिंहले सहिदाकाे निवेदनलाई समयमा कार्यान्वयनमा लगेकाे भए घटना हुने थिएन । सत्यतथ्य बाहिर आउने थियाे ।

सहिदाकाे लमही अस्पतालमा पाेष्टमार्टम भएकाे छ । उनका पति राजुले शव बुझेर अन्तिम दाहसंस्कार गरेका छन् । सहिदाले आत्महत्या गरेकाे थाहापाएपछि आमासहितले प्रहरीलाई खबर गरेर वडा सदस्य रन्जना नेपालीकाे राेहबरमा फागुन १६ गते बिहान मुचुल्का प्रहरीले उठाएकाे थियाे । सहिदका पति राजुलाई प्रहरीले राति नै फाेन गरेर बाेलाएकाे थियाे । राजु राति आएनन् । अर्को दिन बिहान मात्रै घटनास्थलमा आए । राजुकाे घर भगवानपुर र घटना भएकाे भालुबाङ पुल्चोककाे दुरी सवारी साधनमा २५ मिनटमा पर्छ ।

राजुले सहिदालाई सम्बन्ध बिच्छेदका लागि दवाव पनि दिएकाे आराेप माइतीपक्षले लगाएकाे छ । राजुले सहिदाले आत्महत्या गरेकाे प्रकरणमा ससुरालीविरुद्व जाहेरी दिएर दु:ख दिने प्रयास गरेका छन् । इन्स्पेक्टर सिंहले मृत्तक सहिदालाई समयमा न्याय त दिएनन् नै पीडकलाई झन् पीडा दिन खाेजेकाे आराेप छ ।

सहिदाका पति राजुले आफू र सहिदाबीच कुन समस्या नरहेको दाबी गरे । उनले सहिदाकी आमाले प्रहरीमा उजुरी दिएकाे भन्दै आराेपबाट बच्ने प्रयास गरेका छन् ।

नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कुबेरसिंह कडायतले सहिदा प्रकरणबारे आफू चिन्तित रहेकाे बताए । उनले घटनाकाे छानबिन हुने बताएका छन् । राजुले सहिदासँग आफूलाई छुटाउन खाेजेकाे दाबी गरे । आराेपी राजु र ईन्स्पेक्टर सिंहबीच निकै राम्रो सम्बन्ध रहेका कारण अनुसन्धानमा हेलचेक्याइ भएकाे आराेप पनि छ ।

सहिदा राजुबीच ७ वर्ष अगाडि प्रेम विवाह भएकाे थियोे । सहिदा र राजुकी ४ वर्षीया छाेरी छिन् । सहिदाकाे मृत्युुसँगै छाेरीकाे बिचल्ली भएकाे छ ।

Published : Friday, 2024 March 1, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया