इलाम उपनिर्वाचनमा कांग्रेसबाट क-कसको दाबी ? खड्काको नाम आएपछि खैलाबैला

काठमाडौं । इलाम जिल्लामा प्रतिनिधिसभाको उपनिर्वाचनको टिकटका लागि नेपाली कांग्रेसबाट आधा दर्जन नेताहरुले दाबी गरेका छन् ।

केन्द्रीय सदस्य सुजाता परियार, इलाम कांग्रेसका सभापति डम्बर खड्का, संविधान सभा सदस्य एवम् जनजाति महासंघका पूर्व अध्यक्ष नरेन्द्रकुमार कुमाल, नेता भेषराज आचार्य, केशव थापा लगायत नेताहरुले टिकटमा दाबी गरेका छन् ।

वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचन हुने भएपछि नेताहरुले टिकटमा दाबी गर्न थालेका छन् । उनीहरुले केन्द्रीय नेताहरुसमक्ष टिकटका लागि लबिङ गरिरहेका छन् ।

उपनिर्वाचनका लागि सभापति खड्काले पनि दाबी गरिरहेका छन् । खड्का यसअघि २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङसँग खड्का ११४ मतको अन्तरले पराजित भएका थिए ।

निकै विवादित मानिने सभापति खड्का विवादित मानिन्छन् । ठेकेदार पृष्ठभूमिका खड्काले उपनिर्वाचनका लागि टिकटमा दाबी गरेपछि इलाम कांग्रेसभित्र खैलाबैला भएको छ ।

इलाम–२ बाट नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।

Published : Thursday, 2024 February 29, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया