मुटुको उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पतालमा २२ करोडको क्याथ ल्याब, खनालद्वारा उद्घाटन

देउखुरी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ ।

अस्पतालको ११४औँ वार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरिएको हो । मुटुको परीक्षण गर्ने क्याथ ल्याव सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गरेका छन् ।

प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो भएको छ । मन्त्री खनालले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपियाँ बिनियोजन गरेको बताए ।

खनालले ल्याव सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको बताएका छन् । ‘मुटुसम्बन्धी सानो समस्या हुँदा पनि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । प्रदेशभित्रै मुटुको उपचार हुन्छ ।’

‘प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो’, उनले भने । लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागि तयारी भइरहेको मन्त्री खनालले बताएका छन् ।

लुम्बिनी प्रदेश स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकीकृत विकास आवश्यक रहेको बताएका छन् । उनले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक अभाव हुन नदिने बताएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने बताए । उनले मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचारमा थप सहज हुने बताएका छन् ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्ष २२ करोड रुपियाँ बिनियोजन गरेको थियो ।

क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर लगायत गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताएका छन् ।

Published : Thursday, 2024 February 29, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया