निजी गाडीले भाडाका यात्रु बोके कारबाही गर्न डीआईजी कडायतको आदेश, परिपत्र जारी गर्न निर्देशन

देउखुरी । नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेरसिंह कडायतले निजी सवारी साधनले भाडामा यात्रु बोक्ने कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले देउखुरीमा आयोजना गरेको दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा डीआईजी कडायतले निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिने बताए । उनले भने, ‘निजी सवारी साधनले भाडामा लगाएको भन्ने आएको छ । यसलाई हामीले स्ट्रिकली गर्छौ । एसपी साब हुनुहुन्छ । उहाँले परिपत्र गर्नु हुन्छ । कारबाही हुन्छ । के के छ ? अध्ययन हुन्छ । यो अगाडि बढाउँछौँ ।’

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख कडायतले सडक दुर्घटना न्यूनीकरणमा सबैले दायित्व बोध गरेर नागरिकलाई सुधार गर्नुपर्ने बताएका छन् ।

ट्राफिक प्रहरीले लुम्बिनी प्रदेशभित्र धेरै स्थानमा चेकजाँच गरेर सवारी चालक र सवारीधनीलाई दुःख दिएको गुनासोका विषयमा पनि अध्ययन गरेर माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

उनले भने, ‘चेकजाँज बढि भयो भन्ने कुरा पनि आयो । ट्राफिक प्रमुखहरूलाई डाटामा बोल्न निर्देशन दिएको छु । चेकजाँच गर्नुपर्ने हो कि होइन ? अझै धेरै ठाउँमा गर्नुपर्ने हो कि ? चेकप्वाइन्ट र चेकिङको बारेमा अध्ययन हुन्छ ।’

डीआईजी कडायतले दुर्घटना हुँदा उद्धारका लागि तत्काल खटिन मोबाइल एम्बुलेन्सको आवश्यक्ता रहेको पनि बताएका छन् ।

उनले ड्राइभिङ इन्स्टिच्युट व्यवस्थित नरहेको बताएका छन् । त्यस्ता ड्राइभिङ इन्स्टिच्युटलाई कानूनी दायरमा ल्याउन मातहतलाई निर्देशन दिएका छन् ।

उनले लुम्बिनी प्रदेशमा यस पटक धेरै दुर्घटना भएको बताएका छन् । ‘अब रुटमा दुर्घटना न्यूनीकरण गर्नको लागि हामी, राज्य, सरोकारवाला निकायले सहकार्य गरेर काम गर्नुपर्छ’, कडायतले भने ।

डीआईजी कडायतले एउटा विधि र प्रक्रिया बनाएर दुर्घटना न्यूनीकरणमा पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले ट्राफिक प्रहरीले जिल्ला प्रवेश गर्ने र बाहिरिने नाकामा सवारी साधनलाई चेकजाँच गर्ने गरेको बताए । उनले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Published : Tuesday, 2024 February 27, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया