मन्त्री किराँतीले १८ करोड कमिशन खान लागेको सभापति खतिवडाकाे खुलासा, पर्यटन मन्त्रालय डुबाए
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती १८ कराेड कमिशन प्रकरणमा लागेकाे बताएका छन् ।
प्रतिनिधिसभाकाे आइतबार बसेकने बैठकमा विशेष समयमा बोल्दै खतिवडाले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्री किराँतीले जहाज किनेर झन् धरासायी बनाउन लागेको बताए । उनले भने, ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो ? कुन अवस्थामा पुर्याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ ।’
खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’
उनले नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपियाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको बताएका छन् । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको उनले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपियाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको बताएका छन् ।
निगममा हाल १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङ गरिएका झण्डै ८०० कर्मचारी रहेको उनले बताएका छन् । खतिवडाले भने, ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरूलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ । जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ ।’
मन्त्री किराँतीले कार्यकक्षमा झाडु लगाएकाे भिडियो र तस्बिर खिचाएर नौटंकी गरेको बताएका छन् । उनले भने, ‘मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ?’
‘सस्तो पपुलिजमका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गरेर त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रोमन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने ?’, खतिवडाले भने ।
खतिवडाले मन्त्री किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको विषयमा पनि प्रश्न उठाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया