वीरेन्द्रनगरकी मेयर ढकाल र कँडेलको विवादित गतिविधि, सरकारी विद्यालयको छेउमा मेलाको अनुमति

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल र नेपाल उद्योग वाणिज्य संघ, सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलको मिलोमतो तथा स्वार्थमा सामुदायिक विद्यालयको पठन पाठन प्रभावित गर्नेगरि महोत्सव लगाउन लागेका छन् ।

मेयर ढकालले उद्योग वाणिज्य संघलाई तेस्रो ‘कर्णाली एक्सपो २०८०’ फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरको वडा नं. ८ मा महोत्सव गर्न अनुमति दिएकी छिन् । सामुदायिक विद्यालयकै छेउमा मेला महोत्सव लगाउन अनुमति दिएपछि मेयर ढकालको विरोध भइरहेको छ ।

तेस्रो ‘कर्णाली एक्सपो २०८०’ ले विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भन्दै बिहीबार अदालतमा रिट दायर गरिएको छ । बाल मन्दिर प्राथमिक विद्यालयको १० मिटर नजिक रहेको मैदानमा महोत्सव चल्ने भएपछि पढाइ अवरोध हुने भन्दै अधिवक्ता प्रकाशबावु ऐडीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा सञ्चालन हुनेछ । विद्यालयको नजिकै महोत्सव चलेपछि विद्यार्थीको स्वच्छ र शान्त वातावरणमा अध्ययन गर्न पाउने अधिकार हनन् हुनेछ ।

उपयुक्त स्थानमा महोत्सव सञ्चालन गर्ने आदेशको मागसहित रिट दायर गरिएको अधिवक्ता ऐडीले बताएका छन् । अधिवक्ता ऐडीले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र उद्योग वाणिज्य संघ सुर्खेतलाई विपक्षी बनाई अन्तरिम आदेशसहितको निषेधाज्ञा माग गरेका छन् ।

रिटमा मेला संचालनका लागि वीरेन्द्रनगरकै खुला मञ्च, जिल्ला प्रशासन कार्यालयको दक्षिण तर्फको खुल्ला मैदान, कालुन्चोकमा रहेको खेल मैदान, बुलबुले उद्यान लगायतका स्थानहरूको विकल्प समेत दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र विसीले विद्यालय नजिक मेला नलगाउन नगरपालिकासँग पटकपटक अनुरोध गर्दा पनि बेवास्ता भएको बताएका छन् ।

विसीले भने, ‘महोत्सव लगाउँदा विद्यालयमा पढाइ प्रभावित हुन्छ भन्ने विषयमा बारम्बार नगरलाई अनुरोध गरेका थियौं । बालबालिकाको पढाइभन्दा नगरलाई महोत्सव ठूलो लाग्यो । दुई पटकसम्म महोत्सव लगाउँदा विद्यालय नै बन्द गरेका थियौं ।’

प्रधानाध्यापक विसीका अनुसार विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने १ सय १० जना बालबालिका रहेका छन् । मेला लगाउनुभन्दा पहिला आयोजकले जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग शान्ति सुरक्षाका लागि अनुमति लिनुपर्छ । अहिलेसम्म उनीहरूले प्रहरीसँग अनुमति लिएका छैनन् ।

उद्योग वाणिज्य संघ, सुर्खेतका अध्यक्ष कँडेल निकै विवादित व्यक्ति हुन् । कँडेलले भ्रष्टाचारको विषयमा मुछिएका व्यक्ति हुन् । उनले यस्तै विवादित गतिविधि र हर्कत गर्दै आएका छन् । चिस्यान केन्द्र प्रकरणमा कँडेलले भ्रष्टाचारको मुद्दा खेपी रहेका छन् ।

भ्रष्टाचारको अभियोग लाग्दा पनि कँडेलले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने थियो । राजीनामा नदिए पनि कार्यबाहक दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्नेमा उल्टै अध्यक्ष कँडेलले विवादित गतिविधि र हर्कत गर्दै आएका छन् ।

के भन्छन् प्रधानाध्यापक महेन्द्र विसी ?

Published : Friday, 2024 February 23, 9:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया