गठबन्धन जन्माउने नेतालाई चरित्र हत्या हुँदा मन्त्रीहरू चुपचाप छन् : नेता ढकाल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य विमल ढकालले गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

बुधबार ललितपुरको गोदावरीमा महासमितिको बैठकमा पेश भएका प्रतिवेदनहरूमा समूहगत छलफलमा सहभागी हुँदै नेता ढकालले गठबन्धन जन्माउन भूमिका खेलेका नेताहरूको राजनीति समाप्त पार्ने षड्यन्त्र हुँदा पनि नेतृत्वले चासो नदिएको भन्दै आक्रोश पोखे । उनले महामन्त्रीहरूले गठबन्धनको विषय महासमितिमा प्रवेश गराएर वातावरण बिथोलेको आरोप लगाएका छन् ।

उनले भने, ‘उपसभापति र महामन्त्रीहरूको प्रतिवेदन समग्रमा स्वागत योग्य छ । यो गठबन्धन भन्ने शब्द टड्कारो रुपमा आएको छ । यसलाई अनावश्यक रुपमा भित्र ल्याएर कताकता वातावरण नै खलबल्याउने खालको चेष्टा गरेको हो कि भन्ने महामन्त्रीको प्रतिवेदनमा देखियो ।’

‘गठबन्धन रणनैतिक कुरा हो । निर्वाचनका बेला आवश्यक हुन्छ वा हुँदैन ? तत्कालीन अवस्थामा तत्कालीन पार्टीका समितिहरूले निर्णय गर्ने कुरा हो । उहाँहरूको प्रतिवेदनमा मैले के देखे भने अहिलेको गठबन्धनमा हामी चुनाव लडेर आएको, गठबन्धन कायम राख्ने, यही गठबन्धन राख्ने’, उनले भने ।

‘आम कार्यकर्ताले बुझेका छन् यो गठबन्धन चुनाव लडेर आइयो र सरकारमा छ, गठबन्धनमा कांग्रेसले न कार्यकर्ता जोगाउन सकेको छ, न स्टेन्थ बढाउन सकेको छ’, उनले भने ।

‘पार्टीको नेतृत्वको कमी छ वा सरकारको नेतृत्व र मन्त्रीहरूको कमी छ । कांग्रेसको उपस्थिति छैन जस्तो छ’, नेता ढकालले भने ।

‘कांग्रेसका नेताहरूलाई विभिन्न लाञ्छनाहरू लगाएर चरित्र हत्या गर्ने चेष्टा गरिएको छ’, महासमिति सदस्य ढकालले भने ।

‘सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका मन्त्रीहरू कोही बोल्नु हुन्न’, उनले भने, ‘पार्टीकै जिम्मेवार नेताहरूलाई राजनीति सिध्याउने भनेर षड्यन्त्र हुँदा चुप लागेर बस्नु हुन्छ ।’

उनले भने, ‘यो गठबन्धन कांग्रेसको बच्चैदेखि सेक्रिफाइ गरेर आएका नेताहरूलाई विभिन्न लाञ्छनाहरू लगाएर चरित्र हत्या गरिराखिएको छ, त्यो गर्दा सरकारमा गएका प्रतिनिधि मन्त्रीहरू चुपचाप छन् ।’

‘पार्टी पंक्ति चुपचाप छ । यही गठबन्धनलाई कायम राख्ने भनेर महामन्त्रीको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । महामन्त्रीले त्यसलाई हटाउनुपर्छ’, ढकालले भने ।

‘यो गठबन्धन माओवादी, समाजवादीसँगको गठबन्धन होइन । गठबन्धन जोसँग पनि हुन सक्छ । आवश्यक पर्‍यो भने जोसँग पनि हुन्छ । अहिले पनि प्रचण्डले गठबन्धनको छोडेर एमालेसँग मिल्न जान हुने, कांग्रेस टाँसिरहनु पर्ने ? महामन्त्रीले के प्रस्ताव लिनुभएको हो ? गठबन्धनलाई पाँच वर्ष लैजाने महामन्त्रीको प्रस्तावलाई प्रतिवेदनबाट हटाउनुपर्छ’, ढकालले भने ।

‘महामन्त्री र पार्टीका नेताहरूले निर्णय गर्नुभन्दा पहिला सामाजिक सञ्जालमा हाइहाइ हुने गरेर लेखेर पार्टी चल्दैन’, उनले भने, ‘पार्टी चलाउन यथार्थपरक, बस्तुपरक निर्णय हुनुपर्छ ।’

‘महासमितिको बैठकमा केन्द्रीय उप–सभापति, महामन्त्री, प्रवक्ताले जुन प्रतिवेदन पेश गर्नुभएको छ, यो लगभग उहाँहरूले प्रस्तुत गर्दा सात घण्टा होला । ३ मिनटमा टिप्पणी गर्न आफैमा पनि असर्मथता छ’, उनले भने ।

Published : Wednesday, 2024 February 21, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया