गोदावरीमा कांग्रेसको महासमिति बैठक, सभापति देउवाद्वारा उद्घाटन (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सभापति शेरबहादुर देउवाले समुद्घाटन गरेका छन् ।

सोमबार पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले महासमिति बैठकको उद्घाटन गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेसलाई जनताले आशा र भरोसा गरेको पार्टी भएको बताएका छन् । उनले जनताको भरोसालाई कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले कांग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयको जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताएका छन् ।

उनले जनतामा देखिएको निराशाको प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिने र जनतामा विश्वास र भरोसा दिलाउने सकिने बताएका छन् ।

देउवाले भने, ‘जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन, लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ । विधिको शासन र सुशानमा जोड दिनुपर्दछ ।’

सभापति देउवाले देशको सार्वभौमिकता अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायजस्ता विषयमा सबै लोकतान्त्रिक पार्टीको समान धारणा हुनुपर्ने बताएका छन् । यसका निम्ति संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने उनले बताएका छन् ।

उपसभापति धनराज गुरुङले केही कमीकमजोरी भए महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टीको सांगठनिक संरचना सुधार गर्ने अधिकार महासमितिले राख्ने गुरुङले बताएका छन् । उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनु पर्दछ । मुसाले धेरै बच्चा जन्माउँछ तर, हात्तीले एउटा जन्माउँछ र पनि त्यही एउटा शक्तिशाली हुन्छ ।’

गुरुङले आर्थिक, सामाजिक, अन्तर्राष्ट्रिय लगायतका नीतिहरू बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातान्त्रिक समाजवाद हुनुपर्ने र झुपडी र महलमा बस्नेलाई जोड्ने किसिमको हुनुपर्ने बताएका छन् ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले पार्टीको केन्द्रीय कमिटीको तर्फबाट महासमिति सदस्यहरूलाई स्वागत गरेकी छिन् ।

उपाध्यायले पार्टीमा न्याय नपाएको आवाजहरू बढेको भन्दै न्याय पाउने र न्याय दिने नीति अवलम्बन गराउनका लागि महासमितिले ठोस निर्णय गरेर जानुपर्ने बताइन् ।

‘हामीले विभिन्न प्रस्तावहरू ल्याएका छौं’, सहमहामन्त्री उपाध्यायले भनिन्, ‘यी प्रस्तावहरूमा गहन छलफल र बहस गरी जिम्मेवारीका साथ पास गर्नुपर्ने हाम्रो दायित्व हो ।’

महासमिति बैठक आयोजक जिल्लाको तर्फबाट ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले महासमिति सदस्यहरूलाई स्वागत गरेका छन् ।

श्रेष्ठले महासमितिको बैठकको हलबाट पार्टीलाई एकताबद्ध भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेस अहिले सबैभन्दा ठूलो पार्टी भएकोले पनि मुलुकलाई राजनीतिक दिशा प्रदान गनुपर्ने र आगामी ०८४ को निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउनु पर्ने समेत बताएका छन् ।

बागमती प्रदेश कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले उद्घाटन कार्यक्रमको समापन गरेका छन् । फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा ८ गतेदेखि विभिन्न समूहमा रहेर पार्टीका विभिन्न प्रस्तावहरूमाथि छलफल सुरु हुनेछ ।

Published : Monday, 2024 February 19, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया