एसपी ज्ञवालीले सर्लाही प्रहरीको ईञ्चार्ज सम्हाले, जिल्लाबासीको साथ लिएर शान्ति सुरक्षा बनाउने

मलंगवा । प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

सोमबार एसपी ज्ञवालीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जिम्मेवारी लिएका हुन् । उनले सर्लाही जिल्लाको शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता नहुने बताएका छन् । जिल्लाबासी सबैको सहयोगमा शान्ति सुरक्षा बनाउने उनले बताएका छन् ।

एसपी ज्ञवालीले सर्लाही जिल्लाका जनताले शान्तिपूर्ण तरिकाले आफ्नो जीवनयापन गर्न पाउनुपर्ने बताउँदै कसैले उछृङ्खल गतिविधि गरेमा कानूनअनुसार कारबाही गरिने बताए ।

एसपी ज्ञवालीले भने, ‘सर्लाही जिल्लाको शान्ति सुरक्षा मेरो नेतृत्वसँग जोडिएको छ । म सफल हुनुपर्छ । प्रहरी महानिरीक्षकज्यूलाई सफल बनाउन मेरो नेतृत्व सफल हुनुपर्छ ।’

एसपी ज्ञवालीले गृह मन्त्रालयको सफलता नेपाल प्रहरीसँग जोडिएको भन्दै सजग र सर्तक रहन मातहतलाई निर्देशन दिएका छन् ।

एसपी ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको च.नं.९१६२ को पत्र साथ जिप्रका सर्लाहीमा सोमबार उपस्थित भएका हुन् ।

सर्लाही जिल्ला छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको भन्दै एसपी ज्ञवालीले सीमा क्षेत्रमा हुने अबाञ्छित गतिविधिमा निगरानी राखिने बताए । सर्लाही जिल्लाको शान्ति सुरक्षा बनाउने दायित्व प्रहरी प्रमुखको हिसाबले आफू र प्रहरी युनिटहरूको रहेको बताएका छन् ।

कार्यालयमा हाजिर भई एसपी ज्ञवालीले बिधिवत रुपमा कार्यालयको सम्पूर्ण चार्ज बुझिलिएको प्रेस नोटमा उल्लेख छ ।

यसअघि, एसपी ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बाग्लुङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन बाग्लुङ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छन् ।

अपराध अनुसन्धानमा सक्षम मानिने एसपी ज्ञवालीले ठूला अपराधका घटनामा सफलता पाइसकेका छन् । अपराधका घटना फत्ते गरेका कारण एसपी ज्ञवालीले पुरस्कारहरू पनि पाइसकेका छन् ।

Published : Monday, 2024 February 19, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया