निकम्मा कुराहरू ल्याएपछि गगन र विश्वले आफ्नै गुटको समर्थन पाएनन्, शेखर–प्रदीपबाटै रिजेक्ट
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा निकै चर्को आलोचना खेप्नु परेको छ ।
बिहीबार र शुक्रबार वीपीनगर, ललितपुरमा बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रस्तुत थापा र शर्माको प्रतिवेदनको नेता शेखर कोइरालाले नै आलोचना गरेका छन् । आफ्नै गुटका नेताबाट प्रतिवेदनको आलोचना भएपछि महामन्त्री थापा र शर्माको क्षमतामाथि प्रश्न उठेको छ ।
आफूलाई निकै जान्ने र बुझ्ने दाबी गर्दै आएका महामन्त्रीद्वय थापा र शर्माले नेताहरूको तीव्र असन्तुष्टि सामना गर्नु परेको छ ।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समितिमा पेस गरेका प्रतिवेदनप्रति नेताहरूले असन्तुष्टि मात्रै जनाएनन्, स्वामित्व लिन नसक्ने पनि बताएका छन् ।
नेता शेखर कोइरालाले प्रस्तावहरू मौलिकतामा आधारित नहरेको कठोर टिप्पणी गरेका छन् । उनले भने, ‘प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपथ्र्यो । त्यो देखिएन ।’
‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्तावेजहरू हेर्दा कता–कता गठबन्धनको छायाँ परेको हो कि जस्तो देखियो’, कोइरालाले भने । अबका कुनै पनि चुनावमा गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्नुपर्ने उनले बताएका छन् ।
इतिहाँसको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न नेता कोइरालाले महामन्त्रीद्वय थापा र शर्मालाई सुझाव दिएका छन् ।
नेता जीतजङ्ग बस्नेतले भने, ‘प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न लागेको हो कि भन्ने भान मजस्तै अन्य केन्द्रीय सदस्य साथीहरूलाई लागेको होला भन्ने मेरो विश्वास छ ।’
प्रतिवेदनको पेज नम्बर ३२ को बुँदा नम्बर १८ मा ‘युवासँग कांग्रेस’मा युथ कांग्रेस, उद्यमशील कांग्रेस उल्लेख रहेको भन्दै बस्नेतले भने, ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन । युथ कांग्रेस भनेको के हो ? कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन ? तरुण दलको तदर्थमै चलाउनुको भित्री रहस्य कहीँ यही युथ कंग्रेस त होइन ?’
उनले भने, ‘प्रतिवेदनको पेज नम्बर ३६ मा बहसका लागि प्रस्तावित विषयहरूको बुँदा नम्बर १ मा सदस्यतामा स्वत: प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्ने, केन्द्रीय सदस्य, सांसदलगायत विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रुपमा तल्लो तहबाट अधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने उल्लेख छ । यो कुरा पदाधिकारीहरूमा लागू हुने कि नहुने ? हुने भए यसमा पदाधिकारीहरू भनेर किन लेखिएन ? कि लेख्न छुटेको हो ?’
नेता बस्नेतले भने, ‘महामन्त्रीज्यूले पेश गर्नुभएको प्रतिवेदनको पाना नम्बर ३५ मा वडादेखि जिल्ला तहसम्म जुन तहका लागि नेतृत्व छनौट गर्ने हो, मताधिकारका लागि योग्यता पुगेका पार्टी सदस्यको प्रत्यक्ष निर्वाचनबाट सो तहको सभापति र अन्य केही पद मात्र निर्वाचित गर्ने, बाँकी पद पार्टी सदस्यहरूबाट मनोनयन गर्ने भनिएको छ ।’
‘प्रतिवेदनको पाना नम्बर ३७ मा प्राइमरी इलेक्सनको प्रस्ताव गर्नुभएको छ । प्राइमरी इलेक्सनको नेपालीकरण के हो ? नेपालको लोकतन्त्रको आफ्नै मौलिकता छ’, उनले भने, ‘हामीले अमेरिकी व्यवस्थालाई साभार गर्न लागेका हौं र ?’
‘महामन्त्रीज्यूबाट निकै फूलबुट्टा पार्न खोजिएको यो प्रतिवेदनमा १५औं महाधिवेशनको कार्यतालिकामा विधान महाधिवेशन २०८१ असोजमा गर्ने भन्नुभएको छ । परिकल्पना नै नगरेको विधान अधिबेशन भनेको के हो ? केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र ? के कांग्रेसको विधान पूर्ण असफल भए कै हो र ?’, नेता बस्नेतले भनेका छन् ।
महामन्त्रीद्वय थापा र शर्मा निकट मानिने नेता प्रदीप पौडेलले पनि प्रतिवेदनहरूको कठोर आलोचना गरेका छन् । प्रतिवेदनहरूले नेता/कार्यकर्तामा आशा जगाउन नसकेको उनले टिप्पणी गरेका छन् ।
प्रतिवेदनमा समस्याका पोका मात्रै राखिएको तर, समाधानको ठोस प्रस्ताव नआएको पौडेलले बताएका छन् । पौडेलले निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्मालाई नेता पौडेलले भने, ‘सुशासन ल्याउने प्रक्रिया के हो ? सुशासन मन्त्रालय बनाउने हो कि ? अख्तियारलाई निष्पक्ष बनाउने हो कि ? लागू गर्ने कार्ययोजना के हो ?’
नेता नैनसिंह महरले उपसभापति र महामन्त्रीद्वयको प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् । उनले केन्द्रीय सदस्यसँग छलफल नगरी प्रस्ताव तयार पारिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेता गोविन्दराज पोखरेलले संकटमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी प्रतिवेदन नआएको भन्दै महामन्त्री थापा र शर्माको चर्को आलोचना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया