यी हुन् घोराहीमा महिला प्रहरीको हत्या गर्ने हवल्दार, प्यूठान-बाँकेदेखि दाङसम्म यस्ता छन् कारणहरू

काठमाडौं । नेपाल प्रहरीको कर्णाली तालिम केन्द्र, नेपालगञ्ज (बाँके)मा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले वैवाहिक कारणले महिला प्रहरी समेत रहेकी पत्नी धनमाया थापा मगरको हत्या गरेको हुन सक्ने प्रारम्भीक अनुमान प्रहरीले गरेको छ ।

नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले प्रहरी सहायक हवल्दार यमबहादुर र उनकी पत्नी धनमाया थापा मगरबीच वैवाहिक समस्याका कारण घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको बताएका छन् ।

उनले भने, ‘यमबहादुर झाक्री र धनमाया थापा मगरबीच सम्बन्ध विच्छेद र अन्य आन्तरिक कारणको समस्या रहेको बुझिएको छ । हामीले अनुसन्धान गरिरहेका छौँ । अझै केही भन्न सकिने अवस्था छैन ।’

तालिम केन्द्र नेपालगञ्जबाट चार दिन अगाडि हवल्दार यमबहादुर झाक्री बिदामा निस्किएको देखिएको छ । लुम्बिनीका प्रहरी प्रमुख (डीआईजी) कडायतले प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले हतियार आफ्नै कार्यालय तालिम केन्द्रबाट लिएर आएको हुन सक्ने बताएका छन् । हवल्वदार यमबहादुर झाक्रीसँग हतियार कसरी आयो ? भन्ने विषमया अनुसन्धान हुने डीआईजी कडायतले बताएका छन् ।

महिला प्रहरी धनमाया गुरुङ प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीकी कान्छी पत्नी हुन् । पहिलो पत्नीसँग सम्बन्ध बिच्छेद गरेपछि यमबहादुरले धनमाया थापा मगरसँग विवाह गरेको बुझिएको छ ।

प्यूठान जिल्ला स्थायी घर भएका प्रहरी सहायक हवल्दार यमबहादुर झाक्री र उनकी पत्नी धनमाया थापा मगरबीच खटपट रहेको हुन सक्ने कडायतको भनाइ छ ।

महिला प्रहरी धनमाया थापा मगर तीन महिला अगाडि तालिम केन्द्र नेपालगञ्जबाट दाङमा सरुवा भएर आएकी थिइन् ।

हवल्दार यमबहादुर झाक्रीले बिहीबार राति घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी पत्नी महिला प्रहरी धनमाया थापा मगरलाई गोली हानेर हत्या गरेका थिए । पल्सर मोटरसाइकलमा आएका हवल्दार यमबहादुर झाक्रीले धनमायालाई तीन राउण्ड गोली हानेका थिए । हवल्दार यमबहादुर झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

000

डियुटीमा रहेको प्रहरी कर्मचारीलाई गोली प्रहारबाट मृत्यु र गोली प्रहार गर्ने पक्राउ

मिति २०८०।११।०३ गते अं. २०:३० बजे जिल्ला दाङ घोराही उ.म.न.पा. १४ स्थित दामोदर चोकमा जिल्ला सुर्खेत पञ्चापुरी न.पा. ९ बिद्यापुर घर भई हाल व.प्र.का. घोराही दाङ दरवन्दी एवम् कार्यरत बर्ष २६ की प्र.ज. धनमाया थापा मगर दामोदर चोकमा १८:००-२२:०० बजे सम्मको डियुटीमा रहेको अवस्थामा निजको श्रीमान जिल्ला प्युठान नौबहीनी गा.पा.वडा नं ४ खवाङ घर भई नेपाल प्रहरी आवासिय मा.वि. घोराही दाङ दरवन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंज बाकेमा कार्यरत बर्ष ३५ को प्र.स.ह. याम बहादुर झाँक्रीले भे १२प ११५० पल्सर २२० मो.सा.मा आई गोली प्रहार गरी घाईते बनाएकोमा तत्काल उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई उपचार भईरहेकोमा, ऐ. २०:४० बजे निज प्र.क.लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा डाक्टरले मृत घोषणा गरेको । निज प्र.स.ह.याम बहादुर झाक्री गोली प्रहार पश्चात वारदातस्थलबाट भागी मोटरसाईकलमा फरार भएकोमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको टोलिले लमही न.पा.वडा न. ६अर्जुन खोलाबाट लोड रहेको बेरेटा 9mm पेस्तोल नाल १ ऐ.को म्यागेजिन थान १ र गोली राउन्ड ७ समेत ऐ.२०:५१ बजे नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भई रहेको ।

Published : Thursday, 2024 February 15, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया