कांग्रेसको महासमिति बैठकको यसरी हुँदैछ तयारी, वीपी र देउवाको तस्बिर राखिने
काठमाडौं । नेपाली कांग्रेसले फागुन सात गतेदेखि ललितपुरमा शुरु हुन लागेको महासमिति बैठकको तयारी पूरा भएको जनाएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा पत्रकार सम्मेलन गरेर प्रचार प्रसार उप–समितिले फागुन ७ देखि १० गतेसम्म हुन लागेको महासमिति बैठकको तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।
नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म गोदावरी, ललितपुरमा हुन लागेको महासमितिको बैठकका लागि उप–समितिहरूले धमाधम काम गरिरहेको बताए ।
महासमितिको बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता वीपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राखिनेछ ।
महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने रहेको छ ।
विश्वकर्माले महासमितिको लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने बताएका छन् ।
स्वागत गेट काठमाडौंका नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडीबुटी, काभ्रेपलाञ्चोकको झकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहनेछन् ।
सहभागीहरूलाई तस्बिर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी पोइन्ट बनाउने पनि प्रचार प्रसार उप–समितिको तयारी छ । महासमिति बैठकको उद्घाटनको कार्यक्रम बिहान ९ बजेदेखि शुरु हुनेछ । कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गरिनेछ ।
कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहनेछ । नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राखिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया