पाल्पा दुर्घटनाको कारण पत्ता लगाउन यातायातमन्त्री राणाको निर्देशन, उद्धारका लागि डीआईजीसँग आग्रह

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा (सरोज थापा)ले पाल्पा जिल्लामा आठ जनाको ज्यान जाने गरेर भएको जीप दुर्घटनाप्रति गहिरो चिन्ता जनाएका छन् ।

मन्त्री राणाले दुर्घटनामा परेकाहरूको उद्धार गरेर उपचार गर्न अनुरोध गरेका छन् । उनले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

मंगलबार साँझ ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । १८ जना यात्रु घाइते भएका छन् ।

पाल्पामा जीप दुर्घटना भएको खबर पाउनेबित्तिकै मन्त्री राणाले लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) कुबेर कडायतसँग फोनमा सम्पर्क गरेर लुम्बिनी प्रदेश सरकारबाट उद्धार, घाइतेको उपचार लगायतमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री राणाको निजी सचिवालयका अनुसार डीआईजी कडायतले पाल्पा प्रहरीका प्रमुख (एसपी) हेरम्ब शर्मासहितको टिम उद्धारमा खटिएको बताए ।

मन्त्री राणाले जीप दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि यातायात मन्त्रीको हैसियतले निर्णय लिने गरेर सुझाव दिन डीआईजी कडायतसँग आग्रह गरेका छन् । डीआईजी कडायतले पनि मन्त्री राणालाई सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव दिने बताएका छन् ।

पाल्पामा जीप दुर्घटना हुनुमा क्षमताभन्दा धेरै यात्रु बोकेका कारण हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दाङमा केही दिन अगाडि ठूलो दुर्घटना भएको थियो । त्यसपछि दाङ र बर्दियामा अन्य दुर्घटनाहरू भएका थिए । मन्त्री राणाले सडक दुर्घटना न्यूनीकरणमा आवश्यक परामर्श र तयारी गरिरहेका बेला पाल्पामा ८ जनाको ज्यान जाने गरेर दुर्घटना भएपछि लुम्बिनी प्रदेश सरकारलाई गम्भीर बनाएको छ ।

Published : Tuesday, 2024 February 13, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया