टेप कुनै दुई जनाको थियो, जसलाई आरोप लगाएको हो, उहाँसँगको थिएन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैले अडियोमा नाम लिएर आरोप लगाएकै भरमा तथ्य प्रमाण फेला नपर्दासम्म दोषी भन्न नपाइने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले दुई जनाबीच फोनमा भएको अडियो सम्वादलाई आधार मानेर कसैलाई पनि दोषी करार गर्न नसकिने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणका आधारमा मुद्दा अगाडि बढिसकेको बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थीको केसमा हामीले गर्न सक्ने गर्‍यौँ । दोस्रो फेजको अनुसन्धान हामीले बन्द भयो भनेका छैनौँ । त्यतिखेरी लैजान नसक्नुको कारण के हो भने थप अनुसन्धान गरेकै प्रमाण आइदिए हुन्थ्यो भन्ने थियो ।’

‘अनुसन्धान गर्दा नयाँ प्रमाण नआएपछि फेरि के अगाडि बढाइ राख्ने ? टाइम खुला रहेकाले थप प्रमाण पाइन्छ कि ? भनेर हामीले अनुसन्धानलाई खुला राखेर अनुसन्धानको प्रक्रियामा राखिरहेका छौँ’, श्रेष्ठले भने ।

गृहमन्त्री श्रेष्ठले भने, ‘एउटा टेप आयो । टेप कुनै दुई जनाको थियो । जसलाई आरोप लगाएको हो, उहाँसँग थिएन कुरा गरेको । यो सम्वेदनशील कुरा हो ।’

‘तपाई, हामीलाई पनि त्यस्तो पर्न गएको छ । हुन पनि सक्छ, नहुन पनि सक्छ । म कसैलाई सफाइ दिन खोजेको पनि होइन । मैले केही गर्न खोजेको पनि होइन’, उनले भने ।

‘तर्कको हिसाबले के भने ? मानिलिनुस् कि मेरोबारेमा उहाँहरू दुई जना माननीयहरू बसेर त्यसलाई घोक्र्याइ दिउँ भनेर फोनमा कुरा गर्नुभयो’, श्रेष्ठले भने, ‘साह्रै ठूलो सुशासनको कुरा गर्छ । हामीले गएर बुझाएको होइन यती ? फलाना, फलानालाई पठाएको होइन ? भनेर फोनमा रेकर्ड गरिदिनुभयो ।’

‘त्यो बाहिर लैजानुभयो भने के हुन्छ ? त्यसकै आधारमा मात्रै मलाई दोषी ठहराउन पाइँदैन । अनुसन्धान गर्नुपर्छ’, उनले भने ।

‘कतिपय कुरा यो हुन्छ कि मान्छेलाई लागेको हो पनि हुन सक्छ होला । मान्छेलाई लागेको छ यो त होइन होला । त्यसको आधारमा मात्रै हामीले केही गर्ने होइन’, उनले भने ।

‘प्रमाण चाहिन्छ अनुसन्धानको लागि । त्यस कारणले तथ्य प्रमाण नभएसम्म हामीले कसैलाई पनि आग्रहको आधारमा केही गर्न मिल्दैन’, उनले भने, ‘मनमा लागेछ भने पनि केही गर्न मिल्दैन । तथ्य प्रमाण हुनुपर्छ । दोषीलाई नछोड्ने । निर्दोषलाई केही नगर्ने नीति अन्तर्गत चल्नुपर्छ ।’

Published : Sunday, 2024 February 11, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया