बानियाँजीले टिकट पाए जिताउन लाग्नुस् है, हराउने हैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसको सम्मेलने राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले नियालेर हेरिरहेको बताएका छन् ।

शुक्रबार प्रदर्शनीमार्गमा कांग्रेसको काठमाडौंको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले राम्रा प्रस्तावहरू पारित गर्न आग्रह गरे । उनले भने, ‘काठमाडौं जिल्ला मात्रै नभएर दशको राजधानी पनि हो । यो जिल्लाको नेपाली कांग्रेस पार्टीको जिल्ला सम्मेलन भनेको महत्वपूर्ण हुन्छ ।’

‘यो काठमाडौंको सम्मेलन, राजधानीको सम्मेलन राष्ट्रिय, अन्तर्राष्ट्रिस्तरमा निकै महत्व राख्दछ । यो सम्मेलनबाट राम्रा प्रस्तावहरू पास गर्नुहुनेछ’, देउवाले भने ।

‘राजधानीको सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रभाव पार्नेछ’, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले कार्यक्रममा बोलेर बीचमा उठेर नेताहरू हिँडेकोमा व्याङ्याग्य गरेका छन् । उनले भने, ‘हाम्रा साथीहरूलाई लामो बोल्नुपर्छ । कुराहरू सुनाउनुपर्‍यो । कहिले काहिँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन त्यो ।’

‘मान्छे बोल्दा बोल्दा हल खाली भइसक्या हुन्छ । एकजना बस्या हुन्छ । अनि धन्यावाद है तपाई मेरो भाषण सुन्न बस्नु भा है भनेर माइकमा भन्नुपर्ने हुन्छ’, उनले भने ।

उनले भने, ‘साथीहरु कोही छैन के बोल्नु । मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो । हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ । सबै कुरा प्रष्ट सुनाउन पनि पर्‍यो । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । धेरै कुरा बोल्नु छैन । साथीहरू बोलिसक्नुभयो ।’

सभापति देउवाले प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएमा काठमाडौं कांग्रेसका सभापति सबुजकृष्ण बानियाँलाई जिताउन निर्देशन दिएका छन् ।

‘साथीहरूलाई धेरै बोलिसक्नुभयो । यहाँ एउटा कुरा सबैलाई चित्त दुखेछ । (सबुजकृष्ण बानियाँ) बानियाँलाई टिकट दिएन भनेर’, देउवाले भने, ‘कुरा सुन्नुस् है ! टिकट पायो भने जिताउनु होला है ।’

देउवाले भने, ‘उहाँले टिकट पायो भने हराउनुभयो भने…?! हराउनुभयो भने नि ! पार्टी सभापतिलाई जिताउन लाग्नुस् न ! जिताउन सकिदैन भने राष्ट्रियसभामा जानुपर्छ । जिताएर छोड्नुस त्यस बेला बधाइ दिन्छु ।’

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापा, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, नेताहरू प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, जितजंग बस्नेत, ध्यानगोविन्द रञ्जित, राजन केसी, प्रदीप पौडेल, काठमाडौं कांग्रेसका सभापति सबुजकृष्ण बानियाँ, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 February 9, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया