चीनमा अस्ट्रेलियाली लेखकलाई मृत्युदण्डको सजाय

लण्डन । जासुसीको आरोपमा पक्राउ परेका अस्ट्रेलियाली लेखक याङ हेङजुनलाई चीनको अदालतले निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ ।

पक्राउ परेको पाँच वर्षपछि चिनियाँ अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाली अधिकारीका अनुसार यो सजाय दुई वर्षपछि आजीवन कारावासमा परिणत हुन सक्छ । डा. याङले आफूमाथि लाग्दै आएका आरोप अस्वीकार गरेका छन् । जुन सार्वजनिक गरिएको छैन ।

उपन्यासकारसमेत रहेका डा. याङले चिनियाँ राज्य मामिलाबारे ब्लग तयार पारेका छन् ।

अस्ट्रेलिया सरकारले बेइजिङको कदमले स्तब्ध भएको बताएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बेइजिङको ऐतिहासिक भ्रमण गरेको तीन महिनापछि डा. याङलाई निलम्बित मृत्युदण्ड सुनाइएको छ । नोभेम्बर ४ देखि ७ सम्म भएको भ्रमणको उद्देश्य पछिल्लो समय बिग्रिएको दुई देशको सम्बन्ध सुधार ल्याउनु रहेको थियो ।

डा याङको सजायलाई लिएर विदेशमन्त्री पेनी वोंगले अस्ट्रेलियाका लागि चिनियाँ राजदूतलाई स्पष्टीकरणका लागि बोलाएकी छिन् ।

Published : Tuesday, 2024 February 6, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया