प्रतिनिधिसभाको तेस्रो अधिवेशन, पहिलो बैठकमा के–के भयो ?

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको बैठक सोमबारदेखि सुरु भएको छ । अपरान्ह ४ बजे संसद भवन नयाँबानेश्वरमा संसदको बैठक बसेको छ ।

सभामुख देवराज घिमिरेले सबै सांसदहरूलाई शुभकामना दिएर बैठक सञ्चालन गरेका छन् । सभामुख घिमिरेले पहिलो दिनको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरूका विषयमा सदनलाई जानकारी गराएका छन् ।

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सांसदहरूको नामका विषयमा पनि जानकारी गराइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ अध्यादेश पेश गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट जारी भएको बेपत्त पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गरेका छन् ।

संसदको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ । बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

Published : Monday, 2024 February 5, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया