संसद क्यालेण्डरअनुसार चल्ने, ३/३ बैठक, सांसदहरूलाई एक दिन विदा

काठमाडौं । प्रतिनिधिसभाका बैठक कार्यतालिका (क्यालेन्डर) अनुसार सञ्चालन हुने भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदको बैठकलाई क्यालेण्डरअनुसार सञ्चालन गर्ने सहमति र निर्णय भएको नेपाली कांग्रेसका सांसद तथा कार्यव्यवस्था समितिका सदस्य रामहरि खतिवडाले बताए ।

राज्य व्यवस्था समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘प्रतिनिधिसभाको बैठक हप्तामा तीन दिन सञ्चालन हुनेछ । तीन दिन संसदीय समितिहरूको बैठक सञ्चालन हुनेछ ।’

सांसदहरूले एक दिन विदा पाउनेछन् । सभापति खतिवडाले भने, ‘क्यालेण्डरअनुसार संसद र समिति सञ्चालन भएपछि संसद र सांसदहरूले काम गर्न पाउनेछन् ।’

संसदमा नियमित सांसदहरूलाई उपस्थित गराउन कार्यव्यवस्था समितिले संसदको बैठकमा उपस्थित हुने र उपस्थित नहुने सांसदहरूको नामावली सोही दिन बैठक सकिएपछि सार्वजनिक हुनेछ ।

संसद र समितिहरूको बैठक बस्ने क्रममा गणपुरक संख्या नपुगेर बैठकहरू प्रभावित हुँदै आएका थिए । गणपुरक संख्याका विषयमा पनि कार्यव्यवस्था परामर्श समितिमा गम्भीर रुपमा कुरा उठेको छ ।

सांसदहरूलाई संसद र समितिका बैठकहरू चलिरहेका बेला काठमाडौं उपत्यका नछाड्ने विषयमा पनि सहमति भएको छ ।

माघ महिनामा दुई दिन मात्रै संसदको बैठक सञ्चालन हुनेछ । सोमबार र मंगलबार बैठक चल्नेछ । मंगलबारको संसदको बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेगरी प्रारम्भीक सहमति बनेको छ ।

Published : Monday, 2024 February 5, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया