नौबहिनी र प्यूठान बजारमा कार्यक्रम, समुदायमा कांग्रेसलाई बलियो बनाउने प्रतिवद्धता (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेस प्यूठानले ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत प्यूठान नगरपालिकामा विशेष कार्यकर्ता भेला गरेको छ ।
बुधबार प्यूठान कांग्रेसले प्यूठान बजार र नौबहिनी गाउँपालिकाको बहानेमा अगुवा कार्यकर्ताहरुसँग कार्यक्रम भएको छ । कांग्रेसलाई समुदायमा कसरी लोकप्रिय बनाउने भन्ने विषयमा छलफलहरु भएका छन् ।

कांग्रेसका केन्द्रीय प्रतिनिधि मदनकृष्ण श्रेष्ठले अभियानका विषयमा जानकारी गराएका छन् । उनले कांग्रेसका जनप्रतिनिधि र गाउँका कार्यकर्ताबीचको सम्बन्धलाई झन् कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री समेत रहेका प्यूठानको क्षेत्र नं. २ का क्षेत्रीय सभापति रोज राणाले लामो समयपछि कांग्रेसले मन्त्री पाएको बताए । उनले आफूले प्यूठानको विकासमा सबैभन्दा राम्रो काम गर्ने इच्छा राखेको बताए ।

प्यूठानबाट कांग्रेसबाट एकजना प्रत्यक्ष निर्वाचित र दुई जना समानुपातिक प्रदेशसभा सदस्य रहेको भन्दै मन्त्री राणाले विगतमा ३ जनाबीच तालमेल हुन नसक्दा धेरै बजेट ल्याउन नसकिएको बताए । उनले यस आफूले समानुपातिकका दुबै जना सांसदलाई मन्त्रालयमा बोलाएर बजेटका विषयमा छलफल गर्ने बताए ।

मन्त्री राणाले आफू जनताका समस्या बुझ्न र योजनाहरुबारे जानकारी लिन फागुनको अन्त्यतिरबाट आफ्नो क्षेत्रका वडाहरुमा जाने बताएका छन् ।

मन्त्री राणाले प्यूठानसहित लुम्बिनी प्रदेशका १२ जिल्लाका जनताको सेवा र सुविधाका लागि काम गरेर देखाउने बताए । उनले प्यूठानका कार्यकर्ताले फोन गरेर वा सिधै भेटेर आफ्ना समस्या भनेमा त्यसलाई सकेसम्म समाधान गर्ने बताए ।

जिल्ला सभापति विष्णु गिरीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ता मिलेर काम गर्नुपर्ने बताए । उनले प्यूठानमा कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले कसैले कुनै पद पायो भन्दैमा रिस र डाह गरेर बस्न नहुने बताइन् । उनले अगाडि बढेको व्यक्तिसँग मिलेर अवसर लिएर प्यूठानको विकासमा हातेमालो गरेर जानुपर्ने बताएकी छिन् ।

कार्यक्रममा प्यूठान पूर्वसभापति दीवाकर गौतम, पूर्वसभापति सुवास केसी, नेपाल शिक्षक संघकी जिल्ला अध्यक्ष जानुका अधिकारी, पूर्वउपसभापति हुकुमबहादुर विष्ट, नेपाल तरुण दलका केन्द्रीय सदस्यद्वय सुनिल बस्नेत र सनत श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष रोयल कृष्ण, उपसभापतिद्वय ईश्वर विष्ट र देवेन्द्र बर्मा, नेता देवीराम पुन मगर, शिव रिजाल, क्षेत्र नं. २ का क्षेत्रीय उपसभापति रोहन महतरा, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मधुसुदन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 January 31, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया