बालुवाटार जग्गा काण्डका नाइके मीनबहादुरको भाटभटेनी सुपरमार्केटले करोडौं तिर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल बनाएर कर छलेको भन्दै भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर निर्धारण र जरिवाना तिर्नुपर्ने फैसलालाई सदर गरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशहरू डा.कुमार चुँडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो ।

बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका मीनबहादुर गुरुङको भाटभटेनी डिपार्टमेन्ट स्टोर बेलाबेला विभिन्न काण्डहरुमा पर्दै आएको छ ।

नक्कली बिलबिजक बनाएर कर छलेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण, जरिवाना र ब्याज गणनालाई २८ पुस, २०७६ मा सर्वोच्च अदालतले सदर गरेको थियो ।

राजस्व न्यायाधिकरणको फैसला तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कम्पनीको दाबी अस्वीकार गर्दै भ्याट छलीमा दोषी ठहर गरेको थियो ।

इजलासले शङ्कर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको थियो ।

सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदर गर्दै कम्पनीहरूलाई दोषी ठहर गरेको थियो ।

आन्तरिक राजस्व विभागले भाटभटेनीबाट ०६४ साउनदेखि ०६७ माघसम्मको अवधिमा भ्याट, थप दस्तुर ब्याज र जरिवाना गरी २२ करोड ७९ लाख ८ हजार १९८ रुपैयाँ असुल उपर गर्ने भनी गरेको निर्णयलाई ०७६ पुस २८ मा सर्वोच्चले सदर गरेको थियो ।

राजस्व विभागको निर्णयविरुद्ध भाटभटेनी तत्काल राजस्व न्यायाधीकरणमा गएको थियो । त्यहाँ पनि मुद्दा हारेपछि सर्वोच्च पुगेको थियो । सर्वोच्चले राजस्व विभागको अनुसन्धानका आधारमा राजस्व न्यायाधिकरणले गरेको आदेश सदर गरिदिएको थियो ।

सर्वोच्चको उक्त आदेशविरुद्ध भाटभटेनी सर्वोच्च अदालतमा पुनरावलोकनमा गएको थियो । ०७८ असारमा सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको पूर्ण इजलासले प्रधानन्यायाधीश जबरा र न्यायाधीश ढुंगानाको फैसलामा कैफियत रहेको भन्दै फैसला पुनरावलोकनको आदेश गरेको थियो ।

आन्तरिक राजस्व विभागको टोलीले ०६७ माघ १९ मा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा छापा मारेको थियो । त्यस क्रममा कागजात र प्रमाण संकलन गरेपछि भाटभटेनीले नक्कली भ्याट बिलका आधारमा खर्च बढाएर आयकर छलेको भेटिएको थियो ।

उसले अभिलेखमा नक्कली भ्याट बिल राखेको पनि पुष्टि भएको थियो । अनुसन्धानका क्रममा भाटभटेनीले १ सय ५२ वटा कम्पनीसँग सामान खरिद गरेको भेटिएको थियो ।

Published : Wednesday, 2024 January 31, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया