कोशीका निरंकुश मुख्यमन्त्री कार्की, जिल्ला समन्वय समितिका प्रमुखहरुको अधिकार अपहरण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत जिल्ला समन्वय समितिका प्रमुखहरुको अधिकार पनि खोसेका छन् ।

कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ लाई अध्यादेश मार्फत संशोधन गर्दै मुख्यमन्त्री कार्कीले जिसस प्रमुखको अधिकार खोसेका हुन् ।

यसअघि ऐनमा प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख हुने प्रावधान थियो ।

मुख्यमन्त्री कार्की सरकारी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्ने गरी अध्यादेश जारी गरेका छन् ।

ऐन संशोधन भएका कारण अब प्रदेशमा रहेका सरकारी अस्पतालको व्यवस्थापनका लागि प्रदेश सरकारले अध्यक्ष नियुक्त गर्नेछ ।

एक महिलासहित तीन जना सदस्य पनि सरकारले नै नियुक्त गर्नेछ । यसरी नियुक्त भएका अध्यक्ष र तीन जना सदस्यको कार्यकाल दुई वर्षको हुनेछ ।

यसअघिको ऐनमा भने जिसस प्रमुख अध्यक्ष हुने प्रावधान भएका कारण अध्यक्षको कार्यकाल तोकिएको थिएन ।

ऐनमा स्थानीय समाजसेवी मध्येबाट पाँच जना सदस्य नियुक्त गर्ने र उनीहरुको पदावधि तीन वर्ष हुने उल्लेख थियो ।

अध्यक्ष आफैं नियुक्त गर्नेगरी ऐन संशोधन गरेको सरकारले तीन जना सदस्य नियुक्त गर्ने र नियुक्त अध्यक्ष तथा सदस्यको पदावधि दुई वर्षको हुने व्यवस्था गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुखहरुले अध्यादेशमार्फत कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले अधिकार खोसेकोमा विरोध जनाएका छन् । उनीहरुले आफूहरुको अधिकार कटौती नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले राष्ट्रियसभाको निर्वाचनमा कीर्ते हर्कत गरेर गठबन्धनकी उम्मेदवारलाई हराएको आरोप छ । मुख्यमन्त्री कार्की नेता शेखर कोइराला निकटका मानिन्छन् ।

Published : Monday, 2024 January 29, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया