यस्तो छ राष्ट्रवादी रेखा थापा र बामदेव गौतमको राष्ट्रियता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका युवा जनशक्तिको विदेश पलायन डरलाग्दो अवस्थामा रहेको बताएका छन् ।
राप्रपाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले शिक्षित जनशक्ति नेपाल नफर्कने गरी विदेश पलायनको अवस्था कसले सिर्जना गरेको भन्दै प्रश्न गरेका छन् । उनले पूर्व उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमको नाम नलिएर आलोचना गरेका छन् ।
‘नपढेका मात्र हैन पढेलेखेका योग्यता, क्षमता भएका मानिसहरु पनि विदेश जानका लागि ताँती लागिरहेका छन्’, उनले भने, ‘हुँदा हुँदा एकजना पूर्व गृहमन्त्री बुहारी लिएर अमेरिका जानुभयो । मैले साथीलाई किन जानुभएको भनेर सोध्दा उहाँको बुहारी सुत्केरी हुने बेला भएको छ, अमेरिकामा सुत्केरी गराउन जानुभएको भने ।’
अध्यक्ष लिङ्देनले भने, ‘मैले त्यसबेला कुरा बुझिनँ । त्यहाँ उपचार सुविधा लिन होला भन्ने सोचेको थिएँ तर त्यहाँ जन्मिएपछि अमेरिकी नागरिक हुने रहेछ । सन्तान जन्मेपछि नेपाली नहोस् भन्ने चाहनाले अमेरिका गएका रहेछन् ।’
राप्रपाका अध्यक्ष लिङ्देनले अभिनेत्री रेखा थापाको नाम नलिएर आलोचना गरेका छन् । लिङ्देनले अभिनेत्री रेखा थापा बच्चा जन्माउनका लागि अमेरिका गएको बताए ।
उनले जीवनमा एउटी महिलाले पहिलो पटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताएका छन् ।
‘आफ्नो सन्तान नेपाली नहोस् भन्नेमा भविष्य सुरक्षित ठान्ने अवस्था आउँछ भने देशको अवस्था, राष्ट्रियताको अवस्था कहाँ पुग्यो ? यो भन्दा गम्भीर अवस्था के हुन सक्छ ? यो भन्दा देशको लागि दुर्भाग्यको अवस्था के हुन सक्छ ? राष्ट्रियताको भान मर्दै गएको हो कि हैन ?’, राप्रपाका अध्यक्ष लिङ्देनले भने ।
लिङ्देनले सरकार कुन आयोजना सञ्चालन गर्दा सुरक्षित ढङ्गले नीतिगत भ्रष्टाचार गर्न पाइन्छ त्यसमा अल्झिरहेको बताएका छन् ।
देशमा संस्थागत रूपमा, नीतिगत रूपमा भ्रष्टाचार मौलाइरहेको उल्लेख गर्दै उनले जात, भनसुन, चिनजानका आधार नभई जनताले सुविधा पाउन नसक्ने अवस्था रहेको बताएका छन् ।
योग्यता, क्षमताका आधारमा नभई पहुँचका आधारमा सुविधा दिने काममा गणतन्त्र ल्याएका भन्ने दलहरू नै तल्लीन भएपछि जनतामा राष्ट्रियताप्रति वितृष्णा नभएर के हुन्छ भन्दै अध्यक्ष लिङ्देनले प्रश्न गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया