सात अधिकृतहरुलाई समात्न पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अध्यागमनमा सेटिङ गरेर मानिस विदेश पठाउने गिरोहमा आबद्ध सात जना अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमा भिजिट भिसाको सेटिङ चलेको पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न अदालतबाट अनुमति माग गरेको हो ।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको छ ।

अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ ।

जिल्ला अदालत, काठमाडौंले माघ ९ गते उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत कीर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो ।

अपराधले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो ।

गीतामार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेका थिए । सरोजमार्फत प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको थियो ।

खड्काको बयानका आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

Published : Sunday, 2024 January 28, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया