बुद्ध ज्ञान साइकल यात्राका यात्रीहरुलाई उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनीमा स्वागत

लुम्बिनी । ‘बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनी मायादेवी मन्दिर अगाडि खादा लगाएर स्वागत एवम् सम्मान गरेका छन् ।

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर शुक्रबारदेखि दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ गरेको थिए ।

गौतम बुद्धसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि भएको साइकल यात्राका यात्रीहरुलाई उपाध्यक्ष डा. लामाले स्वागत एवम् सम्मान गरेका हुन् ।

उपाध्यक्ष डा. लामाले आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन गर्न र बुद्ध सग सम्बन्धित महत्वपूर्ण क्षेत्रहरुलाई उजागर गर्न ‘बुद्ध ज्ञान साइकल यात्रा’ले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

महत्वपूर्ण एतिहासिक पुरातात्विक क्षेत्रहरुमा यात्रीहरुको परिक्रमाले लुम्बिनी सहितक अन्य लुम्बिनीसँग सम्बन्धित अन्य क्षेत्रहरु समेतको विकास, प्रचार–प्रसार एवम् पर्यटन प्रबर्द्धनमा सिर्जनात्मक सहयोग पुगेको भन्दै उपाध्यक्ष डा.लामाले यात्रीहरुलाइ धन्यवाद व्यक्त गरेका हुन् ।

‘बुद्ध ज्ञान साइकल यात्रा’मा एक चिनियाँ, १७ भारतीय, १६ जना महिला, दुई जना १४ वर्षमुनिका सहित देशभरका विभिन्न सहरबाट गरी दुई सय २० भन्दा बढी साइक्लिस्ट सहभागी रहेका थिए ।

शुक्रबार बिहान भैरहवाको बुद्धचोकबाट सुरु भएको यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, निग्लिहवामा हुँदै दोस्रो दिन तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी आइपुगेका हुन् । यात्रा भैरहवा पुगेर समापन हुनेछ ।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराएको उनले बताए ।

हरेक वर्ष हुने यस कार्यक्रममा आगामी दिनमा बौद्ध मुलुकका साइक्लिस्टलाई सहभागी गराएर कार्यक्रम गर्ने साइकल सिटी सिद्धार्थनगरका सहसचिव राजेश खरेलले बताए ।

भैरहवाको बर्मेलिटोलबाट सुरु यात्राको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए । यात्रामा सहभागी साइक्लिस्टहरूलाई मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले नेपालको झन्डा र बौद्ध झन्डा हल्लाएर बिदाइ गरेका थिए ।

सहभागीले शनिबार मायादेवी मन्दिरको अवलोकन गरी भैरहवा फर्किएपछि यात्रा समापन गरिनेछ ।

Published : Saturday, 2024 January 27, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया