जित्ने पार्टी बनाउनुस्, गठबन्धन गर्नैपर्दै , कांग्रेसले जित्नुपर्‍यो : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीलाई बलियो बनाए गठबन्धन गर्नै नपर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस कास्कीको प्रथम जिल्ला सम्मेलनलाई संबोधन गर्दै देउवाले पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन आग्रह गरेका हुन् ।

उनले भने, ‘नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । बहुमत नआउने भएपछि गठबन्धन गर्नैपर्ने हुन्छ । गठबन्धन गरेर जाँदाखेरि समस्याहरु छन्, हाम्रो पार्टीमा ।’

सभापति देउवाले भने, ‘गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस् न ! गठबन्धन गर्नैपर्दैन नि पार्टी बलियो भए त । तर, गर्ने के ? पार्टीले जित्नुप¥यो नि ।’

सत्तामा जानका लागि पनि गठबन्धन गर्नुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । ‘पहिले शेरबहादुरले बिगा¥यो, बिगा¥यो भने पछि लिएर आएपछि चाहिँ सत्ता सबै हिसाबले आवश्यक छ’, उनले भने, ‘संसारभरि नै सत्ताका लागि मारामारी छ, चुनाव भइराखेको छ ।’

देउवाले नेपालमा समावेशी, समानुपतिक प्रणाली आवश्यक रहेको बताएका छन् । उनले भने, ‘समानुपातिक, समावेशी संविधान छ । भारतमा बल्ल महिलाहरुलाई संरक्षण गर्ने कुरा भइराखेको छ ।’

देउवाले भने, ‘पालिकाहरुमा अध्यक्ष, उपाध्यक्ष, मेयर वा उपमेयर महिला हुनै पर्ने बराबर अधिकार छ, कुनै पनि देशमा यस्तो व्यवस्था छैन ।’

सभापति देउवाले कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताएका छन् । उनले कांग्रेसको सदस्यता साधारण र क्रियाशील गरी दुई प्रकारको भएको बताए ।

उनले आगामी दिनमा पार्टीले दुवै प्रकारका सदस्य खुला गरी पार्टीलाई संख्यात्मक र गुणात्मक रूपमा बलियो बनाउन कार्यकर्तालाई निर्देशर्नेसमेत दिएका छन् ।

‘जनतानै सार्वभौमसत्ता सम्पन्न मालिक हुन्, जनताको मन जितेर पार्टीमा झैझगडा नगरी तपाईँहरू गाउँगाउँसम्म पुग्नैपर्छ’, देउवाले भने ।

उनले वर्तमान अवस्थामा एउटै पार्टीले बहुमत ल्याउन कठिन भएकाले गठबन्धनमा जानुपरेको बाध्यात्मक अवस्थाका बारेमा कार्यकर्तालाई बताउँदै पार्टीलाई सुदृढ बनाएर जान सके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने उल्लेख गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले पार्टीलाई सशक्त बनाउन महिलाको आरक्षण कोटा अझै वृद्धि गर्नुपर्ने बताए । उनले धर्म निरपेक्षताको अर्थ नकारात्मक हुने भएकाले धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले गाउँगाउँमा विकास पुगे पनि जनता गाउँबाट विस्थापित हुँदा विकास प्रभावकारी नदेखिएको बताए । जनतालाई गाउँमै बस्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उनले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको शिर झुक्ने गरी प्रदेश सरकारले कुनै पनि काम नगर्ने बताए । उनले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भएको बताएका छन् ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेसले गरेको राम्रा कामको प्रचार गर्न नसक्नु नै कांग्रेसको कमजोरी भएको बताएका छन् ।

केन्द्रीय सदस्य गुरु बराल, केन्द्रीय सदस्य शारदा पौडेलले कास्की कांग्रेसमा कमजोरी छन् भन्ने बहाना देखाएर पार्टीभित्र कास्की कांग्रेसलाई उपेक्षा गरिएको बताएका छन् ।

कास्की कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले राजनीतिक प्रतिवेदनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग प्रस्ताव गरेका छन् ।

बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सांसद बिन्दुकुमार थापा, सरस्वती गुरुङ, प्रकाश बराल, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, कांग्रेसका नेता सुदीप मोहन भट्टराई, रामबाबु भण्डारी, भानु ढकाललगायतले कांग्रेसको सुदृढीकरणका बारेमा बोलेका थिए ।

Published : Tuesday, 2024 January 23, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया