चुरेभावर राष्ट्रिय एकता पार्टी ब्यूँतियो, छिट्टै औपचारिक घोषणा हुने

काठमाडौं । विभिन्न कारणले तितरवितर भएका नेता कार्यकर्ताहरूलाई एकै ठाउँमा ल्याएर चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाल ब्यूँतिन लागेको छ ।

पूर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ्गले चुरेभावर पार्टीलाई जन्माउन लागेका हुन् । चुरेभावर पार्टी अहिले पनि निर्वाचन आयोगमा जीवित नै छ । प्रधानाङ्गसहित हरि पोखरेल, उमेश पराजुलीसहितका नेताहरूले आयोगमा पुगेर चुरेभावर पार्टीलाई ब्यूँताउने विषयमा परामर्श पनि गरेका छन् । चुरेभावर पार्टी निर्वाचन आयोगमा अपडेट मात्रै गर्न बाँकी छ ।

नेता हरि पोखरेलका अनुसार पूर्वअध्यक्ष प्रधानाङ्गको नेतृत्वमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई जीवित बनाउन लागेको बताए । उनले पहिलो चरणमा २१ सदस्यीय कार्यसमिति गठन गरेर सबै नेता कार्यकर्ताहरूलाई एक ठाउँमा ल्याउन प्रयासहरू भइरहेको बताएका छन् ।

पूर्वअध्यक्ष प्रधानाङ्गले चुरेभावर पार्टीका नेता कार्यकर्तालाई दैनिक सरह भेट गर्ने, कार्यसमिति गठन र संगठनात्मक विषयमा छलफलहरू गर्दै आएका छन् ।

चुरेभावर पार्टी ब्यूँतिने भएपछि अभिभावक विहीन बनेका नेता कार्यकर्ताहरू पुनः सक्रिय भएर जोडिन थालेको नेता पोखरेलले बताए । पोखरेलले भने, ‘राष्ट्रियताको पक्षमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको आफ्नै पहिचान र योगदान छ । फेरि चुरेभावर पार्टीको आवश्यक्ता महसुस भएको छ । छिट्टै चुरेभावर पार्टी ब्यूँतिएको जानकारी गराउँछौँ ।’

अभिभावक बिहीन भएपछि विभिन्न पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ता पनि ती पार्टीहरू छाडेर चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल जीवित बनाउने गरेर सम्पर्कमा आएको पोखरेलले बताएका छन् ।

चुरेभावर पार्टीका तत्कालीन अध्यक्ष बद्रीप्रसाद न्यौपाने केही नेता तथा कार्यकर्तासहित एमालेमा प्रवेश गरेका थिए । न्यौपानेले एमाले पनि छाडेर प्रभु साहको आमजनता पार्टीमा प्रवेश गरेका थिए ।

Published : Tuesday, 2024 January 23, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया