कांग्रेसले आश्वसन बाँड्दैन, जे गर्छ त्यो मात्र भन्छ : तरुण अध्यक्ष गुरुङ
कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।
कुश्मामा सोमबार नेपाली कांग्रेस पर्वतको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले भने, ‘अहिले जति पनि विकासका पूर्वाधार बनेका छन् ती नेपाली कांग्रेस नेतृत्वको सरकारले तयार गरेको हो ।’
‘नेपाली कांग्रेस कुनै सोसल मिडिया फेसबुक अथवा टुइटरबाट बनेको पार्टी होइन, वीपी कोइरालाको आर्दश र विचारबाट पार्टी बनेको हो’, उनले भने ।
उनले, ‘एउटा सम्भ्रान्त परिवारले शासन गरेको युगमा जनतालाई रैती बनाएका थिए । तिनी नेपाली जनतामाझमा वीपी कोइरालाको सोँच र भिजनबाट स्थापना भएको पार्टी नेपाली कांग्रेस हो ।’
अध्यक्ष गुरुङले भने, ‘नेपाली कांग्रेसमा धेरै नेताहरूले त्याग गर्नुभएको छ । अबका दिनमा नेपाली कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले सबैलाई समेट्नु भएको छ ।’
‘आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले महिला, दलित, आदिवासीलगायत सबैलाई समेट्नु भएको छ’, उनले भने, ‘अहिले जति पनि विकास भएको छ, नेपाली कांग्रेसको कारणले भएको छ ।’
‘कांग्रेसले आश्वसन बाँड्दैन, जे गर्छ त्यो मात्र भन्छ’, गुरुङले भने, ‘जिल्लाका हरेक गाउँमा मोटरबाटो पुगेको छ, शिक्षा र स्वास्थ्यको आधारभूत सेवा उपलब्ध छन्, यी सबै नेपाली कांग्रेसले तयार गरेको पूर्वाधारबाट सम्भव भएको हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया