लुम्बिनीले लाइसेन्समा बोल्ड निर्णय गरेपछि केन्द्र सरकारद्वारा सातै प्रदेशका मन्त्रीहरूसँग छलफल

काठमाडौं । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले सवारी चालक अनुमतिपत्रमा देखिएको समस्या सुधारमा बोल्ड निर्णय गरेपछि सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र प्रदेश सरकारहरूलाई छपाइ, वितरण र सहजतापूर्वक सेवा दिने विषयमा छलफल गरेका हुन् । प्रदेशमन्त्रीहरूले सेवाग्राहीहरूले सवारी चालक अनुमतिपत्रमा धेरै समस्या भोग्नु परेको भन्दै सहजताका लागि छिटोभन्दा छिटो छपाइ गर्न मेशिन, प्राविधिकसहितको सहयोग गर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले आफ्नो प्रदेशमा चालक अनुमतिपत्र वितरणमा जनतालाई सक्दो सहजताका साथ उपलब्ध गराउने बताए । उनले मेशिन खरिद र चालक अनुमतिपत्र छपाइको अधिकार पाउनेवित्तिकै छिटोभन्दा छिटो सेवाग्राहीलाई सहजता पूर्वक चालक अनुमतिपत्र उपलब्ध गराउने प्रतिवबद्धता जनाएका छन् । उनले चालक अनुमतिपत्र वितरणमा देखिएको झञ्झट र अनियमितताहरू रोकथामका लागि पहल गरिरहेको बताए ।

भौतिकमन्त्री ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन् । उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको बताएका छन् ।

मन्त्री ज्वालाले कुल पेन्डिङ १४ लाख कार्डमध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमश: छपाइ गर्ने गरी ट्रयाकमा लिइएको बताएका छन् ।

उनले १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको बताए ।

मन्त्री ज्वालाले नक्कली लाइसेन्स कान्डमा छानबिन समिति बनाएर काम अगाडि बढेको बताएका छन् । उनले यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको बताए । नक्कली चालक अनुमतिपत्रका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)बाट पनि अनुसन्धान हुने उनले बताएका छन् ।

मन्त्री राणाले आफ्नो मन्त्रालयका सचिवसहित एक हप्ता अगाडि मन्त्री ज्वालासँग चालक अनुमतिपत्र छपाइ गर्न दिन माग गरेर भेट गरेका थिए । त्यसपछि मन्त्री ज्वालाले सबै मन्त्रीहरूलाई बोलाएर छलफल गरेका छन् ।

Published : Sunday, 2024 January 21, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया