सभामुख घिमिरेद्वारा समितिका सभापतिहरूसँग परामर्श

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूसँग विधेयकहरूको अवस्था र संसदको क्यालेन्डर बनाउने विषय परामर्श गरेका छन् ।

आइतबार संसद सचिवालय सिंहदरबार सभामुख घिमिरे र सभापतिहरूबीच समितिहरूमा भएका छलफल तथा निर्णयहरूका बारेमा परामर्श भएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए ।

सभापति खतिवडाले भने, ‘समितिहरूले गरेका कामकारबाही, निर्णय, विधेयकहरूको अवस्था लगायतका विषयमा हामी सबै सभापतिहरूले सभामुखलाई जानकारी गरायौँ ।’

सभापतिहरूसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले विधेयकहरूको अवस्था र संसदको क्यालेन्डर बनाउने विषयमा छलफल केन्द्रित रहेको बताएका छन् ।

संसदको आउँदो अधिवेशनमा पेस गर्न विधेयकहरूको अवस्था के छ भनेर छलफल भएको सभामुख घिमिरेले बताए ।

केही समितिका सभापतिहरूले विधेयकहरू अन्तिम चरण पुगेको जानकारी गराएको सभामुख घिमिरेले बताएका छन् ।

१५ दिनभित्र के गर्ने, एक महिनाभित्र के गर्ने भन्नेबारेमा सभापतिबाट सुझावहरू प्राप्त भएको सभामुख घिमिरेले बताएका छन् ।

घिमिरेले भने, ‘बाँकी भएका विषयहरूलाई छिटो सम्पन्न गर्नुहोस्, अप्ठ्यारा समस्या छन् भने पनि राख्नुहोस्, समस्याहरूको सबै पक्षहरूसँग मिलेर छलफल गर्नुहोस् भनेको छु ।’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, लेखा समितिका सभापति ऋषिकेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 January 21, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया